शिक्षा प्लेटफर्म फ्युजमेसिनले बुधबार नेपालस्थित बिजनेस अक्सिजन प्राइभेट लिमिटेडबाट १० लाख अमेरिकी डलर विदेशी प्रत्यक्ष लगानी (एफडिआई) प्राप्त गरेको छ।
बिजनेस अक्सिजन प्राइभेट लिमिटेड नेपालका स्थानीय कम्पनीहरूलाई विकास र मद्दत गर्ने उद्देश्यको साथ स्थापित संस्था हो।
उक्त रकमबाट फ्युजमेसिनले नेपालमा रहेको कार्यालयमा दुई सय जना नयाँ इन्जिनियरहरू थप्ने र नेपालमा एआई शिक्षा र दक्षता विकासमा खर्चिने बताएको छ।
'फ्युजमेसिनले नेपालको एआई शिक्षा र रोजगारीको परिदृश्यमा ठोस परिवर्तन ल्याउन सकेकोमा हामी प्रशंसा गर्छौं। साथै फ्युजमेसिनको एआई प्रतिभा उत्पादन गर्ने लक्ष्यमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं,' बिजनेस अक्सिजनका अध्यक्ष सिद्धान्त राज पाण्डेले भने।
फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले प्राप्त लगानीले संस्थाको प्रयासलाई अझ बलियो बनाउने आशा व्यक्त गरे।
उनले फ्युजमेसिनबारे भनेका छन्, ‘हामीले सन् २०१८ मा नेपालमा एआई शिक्षा अभियानको सुरुवात गरेदेखि निरन्तर प्राविधिक तथा अप्राविधिक व्यक्तिहरूलाई एआईको पुनः सीप र दक्षता विकास गर्न प्रयासरत छौं।’
फ्युजमेसिनले नेपालका शैक्षिक संस्थाहरूसँग रणनीतिक तालिम साझेदारीसँगै विभिन्न एआई शिक्षासम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ।
आर्टिफिसियल इन्टेलीजेन्स (एआई) लगायत आफ्ना अन्य सेवाहरूको माध्यमबाट उद्यम व्यवसाय क्षेत्रमा काम गरिरहेको संस्था फ्युजमेशिन सन २०१३ मा स्थापना भएको हो।