चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ। चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा उक्त प्रदर्शनी हुने भएको हो।
उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृृद्धि गर्ने उद्देश्यले उक्त प्रदर्शनी गर्न लागिएको नेपाल उद्योग परिसंघले जानकारी दिएको छ।
प्रदर्शनीले पर्यटन व्यवसाय प्रवद्र्धनमा सघाउ पुर्याउने परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले बताए।
उनका अनुसार प्रदर्शनीमा लघु, घरेलु र साना उद्योगलाई आवश्यक पर्ने स–साना औजार, मेसिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र उपकरणहरू र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरण राखिने छ।
साथै, राष्ट्रिय आविष्कार केन्द्रका उत्पादन पनि प्रदर्शनीमा राखिने छ।
प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि दुई सय भन्दा बढी स्टल रहने छन्। लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० वटा स्टल निशुल्क व्यवस्था गरिएको छ। प्रदर्शनीमा उत्कृष्ट हुने साना उद्यमीलाई पुरस्कार तथा सम्मान गरिने छ।
प्रदर्शनी उद्यमीलाई नयाँ प्रविधिबारे जानकारी दिने र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने नयाँ माध्यम हुने आयोजकले बताएको छ।
प्रदर्शनीमा अवलोकनका लागि कुनै शूल्क लाग्दैन।
चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने उक्त प्रदर्शनी आगामी पुस २ गते देखि ४ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ।