पठाओका राइडरले चर्को नाराबाजी गर्दै पठाओ कार्यालय घेराउ गरेका छन्। उनीहरुले युएन पार्कबाट कम्पनीविरुद्ध र्याली निकालेर पठाओको कार्यालय मध्य वानेश्वर पुगेर घेराउ गरेका हुन्।
कम्पनीले आफू खुशी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको पठाओ राइडरहरुले आरोप लगाएका छन्। मनलागेको मान्छेलाई निस्काशन समेत गर्ने गरेको राइडरहरुको भनाइ छ।
राइडरहरुले गत सोमबार पठाओ कम्पनीमा आन्दोलनसहित ११ बुँदे मागपत्र पेस गरेका थिए।
मागपत्रमा राइडर र पेसेन्जरको अनिवार्य इन्स्योरेन्स हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरहरुलाई निलम्बन गर्नु पूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टोमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनु पर्ने, स्पेन्ट रेकर्ड राख्नु पर्ने, राइडर र युजर पेजेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग थियो।
उक्त माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले सोमबार कम्पनीलाई अल्टिमेटम दिएका थिए। सो दिनसम्म पनि आफूहरुको माग पूरा नभए सामूहिक रुपमा कम्पनी त्यागको घोषणा गर्ने चेतावनी राइडरहरुले दिएका थिए।
गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म नआए सामूहिक रुपमै पठाओ त्यागको घोषणा गर्ने र सबैलाई पठाओ प्रयोग नगर्न समेत आह्वान गर्ने उनीहरुको दाबी थियो।
पठाओले भने राइडरहरुको अनावश्यक होहल्ला रहेको प्रेस विज्ञप्ति जारी गरेको छ। कम्पनीको नीति, नियम र अनुशासनमा नबसेका केही व्यक्तिले कम्पनीलाई बदनाम गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ।
अहिलेको आन्दोलन वास्तविक पठाओ राइडरहरुको आन्दोलन नभएर केही बदमास, कम्पनीको विरोध गर्ने र उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिहरु रहेको पठाओ कम्पनीको भनाइ छ।
पठाओ नेपाल द्वारा जारी विज्ञप्ति