उद्दमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ अध्यक्ष बनेका छन्। करिब चार वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका गोल्छा विधानको व्यवस्थाअनुसार शनिबार सम्पन्न ५४ औं साधारणसभाबाट अध्यक्ष चयन भएका हुन्।
नाडा अटोमोबाइल एशोसिएसनको अध्यक्ष भइसकेका गोल्छा महासंघकै विभिन्न समितिमा रहेर काम गरिसकेका छन्। पछिल्लो कार्यकाल भने वरिष्ठ उपाध्यक्षको भुमिकामा थिए।
अध्ययनशील र आर्थिक विषयवस्तुमा पकड राख्ने व्यवसायीका रुपमा चिनिने गोल्छा आगामी दुई वर्ष निजी क्षेत्रको छाता संगठनको नेतृत्व गर्नेछन्।
महासंघलाई चलायमान र समस्या समाधानमुखी बनाउनका लागि आफूले पहल गर्ने गोल्छाले यसअघि नै घोषणा गरिसकेका छन्। यसका लागि संगठन सुदृढीकरणदेखि सचिवालयको सदृढीकरणसम्मका काम गर्ने, महासंघलाई देशको आर्थिक थिंकट्यांक बनाउनेसम्मका योजना उनले अघि सारेका छन्।
देशका नीतिगत समस्या समाधान गर्नका लागि तथ्यमा टेकेर प्रमाणसहित सुझाव दिने संस्कृतिको विकास गर्ने उनको घोषणा छ। यसका लागि आफ्नो कार्यकालका लागि कार्ययोजना बनाइसकेको र नयाँ कार्यसमितिबाट अनुमोदन गराएर कार्यान्वयन गर्ने उनले बताएका छन्।
महासंघ निर्माणका लागि आफ्ना पारिवारिक अग्रजको रगत पसिना बगाएकाले महासंघलाई मन्दिरजस्तै मानेर कर्म गर्ने उनले ताउँदै आएका छन्।
गोल्छासहितका ५४ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले आजै बेलुका पदभार बहाली गर्ने कार्यक्रम रहेको छ। आइतबार बिहान सम्पन्न मतगणनाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, उपाध्यक्षहरुमा वस्तुगतबाट अन्जन श्रेष्ठ, जिल्लानगरबाट दिनेश श्रेष्ठ र एशोसिएटबाट रामचन्द्र संघई निर्वाचित भएका छन्।
महासंघको निर्वाचित कार्यसमितिले कोषाध्यक्षको निर्वाचन गर्ने छ।