अमेरिकी कम्पनी ‘नाइक स्पोर्टवयेर’ले आफ्नो व्यवसाय अनलाइनमा गाभ्ने भएको छ।
बिबिसीकाअनुसार कम्पनीले भौतिक स्टोर हटाएर स्थायी रुपमै आफ्नो व्यवसाय अनलाइनमा गाभ्ने तयारी गरेको हो।
लकडाउनमा मानिसहरु बाहिर निस्कन पाएनन्। यसले गर्दा अनलाइनबाटै जुत्ताहरु किन्नेहरुको संख्या बढेपछि कम्पनीले यस्तो योजना बनाएको हो।
कम्पनीको जुनदेखि अगस्ट त्रैमासिकमा मात्रै ८२ प्रतिशतले अनलाइन बिक्रीमा वृद्धि भएको थियो।
यसले पसल र बजार बन्दका कारण घटेको राजस्वलाई सन्तुलनमा ल्याएको कम्पनीले बताएको छ।
नाइकका प्रमुख कार्यकारी निर्देशक जोन डोनाहोले भनेका छन्, ‘अब बजार प्रविधिमा स्थायी रुपमै परिवर्तन आउनसक्छ। पसलहरुमा भन्दा अनलाइनबाट बिक्री बढ्ने संभावना छ’, ‘उपभोक्ताहरु यसमा निर्भर हुन थालेका छन्। अब उनीहरुलाई सजिलै पुरानो शैलीमा फर्काउन सम्भव छैन।’
नाइकले मंगलबार मात्र १०.६ बिलियन डलरको राजस्व सार्वजनिक गरेको बिबिसीले लेखेकाे छ।
कोरोना महामारीका कारण जुन र अगस्ट अघिका त्रैमासिकमा राजस्वमा गिरावट देखिएको थियो। तर, अनलाइनमार्फत नाइक सक्रिय रहेपछि राजस्व बढ्दै गयो।
कम्पनीकाअनुसार चीन, जापान, दक्षिण कोरिया र बेलायत लगायत देशमा यसको अनलाइन बिक्री बढ्दैछ भने उत्तर अमेरिकी देशहरुमा बजार घट्दैछ।