राष्ट्र बैंकले गत आर्थिक वर्षको ११ महिनाको वित्तीय स्थिति सार्वजनिक गरेको छ।
साउनदेखि जेठ मसान्तसम्मको मुलुकको वित्तीय स्थितिअनुसार ब्यापार घाटा १६ प्रतिशतले घटेको छ। लकडाउनका कारण मुख्य बस्तुको आयात ठप्प हुँदा ब्यापार घाटामा कमी आएको राष्ट्र बैंकले औंल्याएको छ।
समग्रमा मुलुकको व्यापार घाटा १६.४ प्रतिशतले संकुचन आएको छ। एघार महिनामा मुलुकको व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.२ प्रतिशतले वृद्धि भएको थियो।
यस अवधिमा ८८ अर्ब रुपैयाँको सामान भारतसहित अन्य मुलुकमा निर्यात भएको छ भने ११ खर्ब ८१ करोडको आयात भएको छ। एघार महिनाको समीक्षा अवधिमा वस्तु आयात १५.३ प्रतिशतले घटेको हो भने निर्यात ०. २ प्रतिशतले मात्रै बढेको हो।
वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, एम.एस. पाइप लगायतको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, ऊनी गलैंचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ।
त्यस्तै कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ।
रेमिट्यान्स ३ प्रतिशतले घट्यो
समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ३.० प्रतिशतले कमी आएको छ। साउनदेखि जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रेमिट्यान्स भित्रिएको छ।
अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १७.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा ७१.२ प्रतिशतले घटेर ७१ अर्ब ६४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४९ अर्ब ८ करोड रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब २० करोड चालु खाता घाटा रहेकोमा समीक्षा अवधिमा ६५ करोड ६४ लाख रहेको छ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको छ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति अर्थात मुलुकको भुक्तानी सन्तुलन १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको थियो।
मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति बचतमा देखिन्छ भने भित्रिनेभन्दा मुलुकबाट बाहिरिने रकम बढी हुँदा घाटामा देखिन्छ।
कुल विदेशी विनिमय सञ्चिति
२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले बृद्धि भई २०७७ जेठ मसान्तमा १३ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ जेठ मसान्तमा
१० अर्ब ७९ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ जेठ मसान्तमा ११ खर्ब ४२ अर्ब ७८ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ जेठ मसान्तमा १ खर्ब ६३ अर्ब ६८ करोड पुगेको छ।
२०७७ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।