भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन्।
आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरुसँग कुरा गर्दै मन्त्री नेम्बाङले विशेष परिस्थितिका कारण बन्द हुन पगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु उचित नभएको बताए।
आन्दोलनमाजस्तो माग राखेर दवाव दिने र सम्झौता गरेर अगाडि जाने अवस्था अहिले नरहेको मन्त्रीको भनाइ छ।
सबै क्षेत्रका व्यवसायीहरुलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि बस व्यवसायीहरुले माग राख्दै खोल्दिन भन्न नहुने मन्त्री नेम्वाङले बताए।
यातायात व्यवसायीहरुले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफुहरुसँग कुनै छलफल नगरी निर्णय गरेको भन्दै असन्तुष्टि जनाए।
व्यवसायीहरुले यातायात सञ्चालन गर्न चालक र सहचालकले सुरक्षित महसुस नगर्दासम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्रीसहित व्यवसायीहरुका समस्या सम्बोधन गर्न माग गरे।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले सहयोग नगरे ग्यारेजबाट गाडी मर्मत गरी बाहिर निकाल्न सक्ने अवस्था नरहेको बताए।
चालक र सहचालकले बिना सुरक्षा सवारी साधन सञ्चालन गर्दा कोरोना संक्रमण फैलन सक्ने र त्यसको अपजस व्यवसायीले लिनुपर्ने भएकाले सरकारको सहयोग बिना यातायात सञ्चालन गर्न नसकिने कर्माचार्यले बताए।
व्यवसायीहरुले पुनरकर्जा कोषमा यातायात व्यवसायीको पहुँच हुनुपर्ने, कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राखेका छन्।