लामो समयदेखि राइड सेयर बन्द भएपछि राइडरहरुले आफू खुसी राइड सेयर गर्न थालेका छन्।
संचालनमा आइसकेको राइड सेयर कम्पनीले पनि सिमित राइडरलाई मात्र अनुमती दिएको कारण राइडरहरुले स्वतस्फुर्त राइड सेयर गर्न थालेका हुन्।
राइडरहरुले राइड सेयरसगँ सम्बन्धित विभिन्न फेसबुक ग्रुपमार्फत आफ्नो लोकेशन र नम्बर पोष्ट गरेर प्यासेन्जर खोज्न सुरु गरेका हुन्।
जागिर नभएको र राइड सेयर कम्पनीहरुले चलाउन अनुमती नदिएको कारण यसरी आफुखुसी काम गर्नु परेको एक राइडरले बताए।
‘कोठा भाडा त परै जाओस, अहिले त खाना खान पनि मुस्किल परेको छ। त्यही भएर जोखिम मोलेर पनि काम गरेका हौ,’ उनले सेतोपाटीसगँ भने।
कम्पनीले अनुमती दिए अनलाइनमै बसेर राइड लिने उनले स्पष्ट पारे।
‘अनुमती दिए त हामी पनि अनलाइनमा बसेर राइड लिन्छौ। कम्पनीलाई कमिसन दिनुपरे पनि सुरक्षित त हुन्छौ नी,’ उनले भने।
काम गरेर खान पाउने सबैजानको अधिकार भएपनि यसरी राइड लिंदा जोखिम हुने पठाओका क्षेत्रिय निर्देशक अशिममान सिंह बस्न्यातले बताए।
‘उहाँहरुलाई पनि समस्या परेको छ। तर सरकारले ठोस निणर्य नगरी हामीले सबैलाई एकैपटक अनुमती दिन सक्दैनौ,’ उनले सेतोपाटीसगँ भने।
यसरी राइड लिदा राइडर वा प्यासेन्जरपनि सुरक्षित नहुने, कसैलाई कोरोनाको संक्रमण देखिए ट्र्याक गर्न नसकिने, धेरै भाडा उठाउन सक्ने जस्ता समस्या उत्पन्न हुने बस्न्यातले बताए।
आफूहरुले प्रतिकिलोमिटर ३० रुपैयाँदेखि साम्झौताअनुसार भाडा लिइरहेको ती राइडरले बताए। ग्रुप मार्फत राइड लिंदा खर्च कटाएर दैनिक एक हजार देखि पन्ध्र सयसम्म कमाई हुने उनले बताए।