नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजबाट न्यूरोड लगायत उपत्यका भरी पसल खोल्ने निर्णय गरेको छ।
महासंघले आफ्ना सबै सदस्यहरुलाई पसल, व्यवसाय संचालन गर्न आह्वान गरेको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए।
‘उपत्यकामा हाम्रो २७ ओटा संगठन छ र प्रत्येक संगठनमा एक हजार भन्दा धेरै सदस्यहरु छन्। त्यस्तै देशैभरी सम्पर्क समिति पनि छन्। हामीले सबैलाई पसल खोल्न आह्वान गरेका छौ’ उनले सेतोपाटीसगँ भने।
७२ दिनदेखि चलिरहेको लकडाउनको कारण व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको ब्याज, किस्ता, कर्मचारीको तलव दिन समेत मुस्किल परेको कारण पसल खोल्ने निर्णय गर्नु परेको कटुवालले बताए।
महासंघ मातहतमा ठूला मल, कम्प्लेक्स, गार्मेन्ट, इम्पोर्ट–एक्पोर्टदेखि सामान्य व्यापारी समेत सदस्य रहेको महासंघले जनाएको छ।
व्यवसायीहरुले स्वास्थ्य–सुरक्षा अपनाएर सामाजिक दुरी कायम गरी बिहान ८ बजेदेखि व्यापार गर्ने कटुवालले स्पष्ट पारे।
पसल संचालन गर्दा प्रशासनले बल प्रयोग गरेर बन्द गराए राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलव-भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने उनले चेतावनी दिए।
‘विश्वभरको अभ्यास हेर्दा सुरक्षालाई ध्यानमा राखेर व्यवसाय गर्न सकिन्छ। यसले गर्दा व्यवसायीको समस्या हल हुनुको साथै राज्यको राजश्व पनि उठ्छ,’ उनले भने।
आज विशेषत राजधानीको न्यूरोड, महाबौद्ध, बानेश्वर, कोटेश्वर लगायतका स्थानबाट व्यवसाय खोली भोलिका दिनमा देशैभरी खोल्ने वातावरण मिलाउने कटुवालले बताए।