कोरोना र लकडाउनका कारण नेपालको पर्यटन व्यवसाय धरासयी बनेको छ। पर्यटक घुम्नका लागि राम्रो गन्तव्य बन्दै आएको चन्द्रागिरि पनि सुनसान छ। लकडाउनका कारण पर्यटन क्षेत्रमा परेको असरबारे चन्द्रागिरि हिल्सका महाप्रवन्धक अभिषेकविक्रम शाहसँग सेतोपाटीका लागि निशा भण्डारीले गरेको कुराकानीः
सामान्य अवस्थामा चन्द्रागिरि कति जनाले अवलोकन गर्थे?
विदाका दिनहरुमा त ६ हजारको हाराहारीमा अवलोकनकर्ता आउनु हुन्थ्यो। औसतमा भन्नु पर्दा दैनिक २५ सय देखि ३ हजारले चन्द्रागिरि अवलोकन गर्थे।
सामान्य अवस्थामा कारोबार कस्तो थियो ?
कारोबार राम्रो थियो। भर्खरै हाम्रो रिसोर्ट पनि सुरु भएको थियो र पिकअप पनि लिइरहेको थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकको गन्तब्य बनिसकेको थियो। अहिले त पर्यटक आउने सिजन नै हो। हाम्रो अशा अझ धेरै थियो। तर लकडाउनपछि चन्द्रागिरि सुनसान छ।
पर्यटन वर्ष २०२० को लागि के कस्ता टार्गेट लिनुभएको थियो?
पर्यटन वर्षकै लागि भनेर रिसोर्टको भब्य उद्घाटनको तयारी थियो। हामीले विभिन्न प्याकेजहरु पनि ल्याएका थियौँ। प्रत्येक वर्ष पर्यटकहरु बढेका थिए। वार्षिक पर्यटक ५ लाखबाट बढेर ७– ८ लाख पुगेको थियो।
त्यही अनुसार हामीले यो वर्ष १० लाखको लक्ष्य लिएका थियौँ।
चन्द्रागिरिमा अहिले कति कर्मचारी कार्यरत छन्, उनीहरुको व्यवस्थापन कसरी गर्नुभएको छ?
यहाँ अहिले २ सय ५० भन्दा धेरै कर्मचारी कार्यरत छन्। सुरक्षा, सफाई, चौकिदारी लगायतका आवश्यक कर्मचारी हुनुहुन्छ। अन्य कर्मचारीहरुलाई छुट्टीमा पठाएका छौँ।
तलव नियमित दिइरहनु भएको छ?
चैतको त हामीले पुरै तलव दियौ। वैशाखको पनि त्यही अनुसार वर्कआउट गरेर दियौँ। हामीसँग जति रिजर्भमा छ, त्यही अनुसार दिने हो। लकडाउन लामो समयसम्म भयो भने त्यही पनि गाह्रो पर्छ।
कम्पनीको लोनदेखि मर्मत सम्भारसम्मको खर्च त धेरै नै छ। कम्पनी जोगाउन जतिसक्दो सस्टेन हुनेगरी काम गरिरहेका छौँ। भोलि खुल्दाको अवस्थामा पनि हामी सुरुबाटै राम्रो सेवा दिनेगरी काम गरिरहेका छौँ।
लकडाउनपछि पर्यटकलाई आकर्षित गर्न कस्ता कस्ता कदम चाल्दै हुनुहुन्छ?
माहामारीले पर्यटन क्षेत्रलाई धेरै नै असर गरेको छ। अन्तर्राष्ट्रिय पर्यटन व्यवसाय त ३/४ वर्ष धरासायी नै होला जस्तो छ। तर पहिले देखि नै हामी आन्तरिक पर्यटनमा केन्द्रित छौँ।
अब विदेश घुम्न जाने पर्यटक पनि नेपालमै घुम्छन्। लकडाउनपछि पनि घरमा कुजिएर बसेकालाई घुम्न जाने रहर हुन्छ। त्यसको लागि चन्द्रागिरि राम्रो विकल्प हो।
त्यसैले हामी आन्तरिक पर्यटकमै केन्द्रित रहन्छौँ। त्यसको लागि ‘हाइजिन मेन्टेन,’ सामाजिक दुरी, केवलकारमा कति जनासम्म चढाउने लगायतका कुरा प्राक्टिस गर्दै छौं।