नेपालबाट जाने चिया भारतले नरोकेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालय तथा अर्थमन्त्रालयका अधिकारीहरुले चियामाथि भारतले प्रतिबन्ध लगाएको आफूहरुलाई जानकारी नभएको बताएका छन्।
चिया निर्यात हुने मुख्य नाका काकरभिट्टाबाट निर्यात ठप्प भएपछि चियाको निर्यात केहीदिन प्रभावित भएको थियो। भारतको पश्चिम बंगाल सरकारले उक्त नाकाबाट आयात रोक लगाएको छ। त्यसरी रोक लगाउँदा चिया पनि रोकिएको थियो।
तर विराटनगर भन्सारबाट भने निर्यात गर्न कुनै कठिनाइ नरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए।
'चिया निर्यातमा कुनै समस्या छैन। जेठ १२ गतेमात्र नेपालबाट झन्डै १३ टन चिया निर्यात भएको छ। नाकामा समस्या छैन' दाहालले सेतोपाटीसँग भने
दाहालले चिया निर्यात भएको भनेपनि सरकारी निकायहरुले नै भारतमा चियाको निर्यात सहज पारिदन परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरेका छन्। अहिले भएको पत्रचारले चियाको निकासी प्रतिवन्ध लागेर खोलिदिनका लागि नभइ प्राविधिक समस्या समाधानका लागि भएको हो।
दाहालका अनुसार नेपालबाट चिया निर्यात गर्दाखेरी नेपालका व्यवसायीले उत्पान ब्याचको चिया टेष्ट गर्न भारतको कलकत्ता पठाउछन्। त्यसरी टेष्ट भएर रिपोर्ट आएपछि भारतीय भन्सारले उक्त ब्याचको चिया छोडिदिन्छ। यस्तो टेष्ट गर्ने काम नेपालका व्यवासयीले वर्षमा २/३ पटक गर्छन्।
यसमा काकरभिट्टा नाका बन्द भएपछि कलकत्ताबाट आएको रिपोर्ट पानीट्यांकी भन्सारका लागि भएको भन्दै जोगवनीमा रहेको भारतीय भन्सारले आफ्ना लागि छुट्टै रिपोर्ट माग गरेपछि केही समय नेपाली व्यवसायी अलमलमा परेको दाहालको भनाइ छ। तर अहिले पनि चियाको निर्यात सहज भएको र भारतीय पक्षबाट कुनै अवरोध नभएको उनले जानकारी दिए।