लकडाउनले मुलुकको आयात घटेको छ। रकमका आधारमा मुलुकमा आयातित बस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा उच्च अर्थात १४ प्रतिशत छ।
सवारीसाधन सञ्चालन नहुँदा एकातिर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ भने अर्कोतर्फ नेपाल आउने पेट्रोलियम पदार्थको परिणाममा कमी आएको छ।
जसले समग्र आयातमा कमी ल्याएको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार यस आर्थिक वर्षको ९ महिनामा १ खर्ब ३७ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ गत वर्षको यस अवधिमा १ खर्ब ५५ अर्बको आयात भएको थियो।
त्यस्तै उच्च आयातमा दोस्रो स्थानमा रहेको सवारीसाधन तथा पार्टपूर्जाको आयात पनि घटेको छ। तथ्यांकअनुसार गत वर्षको यस अवधिमा सवारीसाधन र पार्टपूर्जा ९२ अर्बको आयात भएकोमा अहिले ७५ अर्बमा झरेको छ।
तीबाहेक एमएस बिलेट, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ। उच्च आयातित बस्तु नै घटेपछि मुलुकको आयातमा राम्रो सुधार देखिएको हो।
गत वर्ष यसै अवधिको तुलनामा ७. ५ प्रतिशतले घटेको समग्र आयात ९ खर्ब ८२ अर्ब रहेको छ। चालु आवको ८ महिनासम्म अर्थात गत साउनदेखि फागुनसम्म आयात जम्मा २. ६ प्रतिशतले घटेकोमा चैतमा आउँदा उच्च दरले कमी आएकाे हाे।
यसले समग्र व्यापार घाटामा ८.९ प्रतिशतले कमी आएको छ।
९ महिनाको व्यापार घाटा ९ खर्ब ३ अर्ब छ। आयात घट्दा निर्यात भने १२. ९ प्रतिशतले बढेको छ। यद्यपी अघिल्ला महिनाको तुलनामा चैतमा निर्यात घटेको छ।
फागुनसम्म निर्यात २२ प्रतिशतले बढेको थियो। तर चैतको पहिलो सातापछि निर्यात ठप्प प्रायः भएपछि वृद्धिदरमा संकुचन आएको हो।
गत वर्षकाे तुलनामा वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जन लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ।