लकडाउनको अवधिमा उद्योगधन्दा सञ्चालन तथा जनशक्ती व्यवस्थापनका लागि व्यवसायीहरुले पास लिनका लागि निश्चित प्रक्रिया पूरा गर्नुपर्ने भएको छ।
वाणिज्य विभागले पास लिने व्यवासायीका लागि मापदण्ड निर्धारण गरेको हो। व्यवसायीहरुका छाता संस्थाहरुमार्फत् व्यवसायीसम्म पुग्नेगरी यस्तो मापदण्डका बारेमा जानकारी दिइएको विभागले जानकारी दिएको छ।
विभागकाअनुसार व्यवसायीहरुले आफ्ना श्रमिक तथा कर्मचारीका लागि पास लिनका लागि वाणिज्य विभागमा दर्ताको प्रमाणपत्र, त्यसको नविकरणको प्रमाण,करचुक्ताको प्रमाणपत्रको प्रतिलिपी बुझाउनुपर्ने छ।
सवारीसाधनको दर्ता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रको पनि प्रतिलिपी आवश्यक पर्ने विभागले जानकारी दिएको छ।
व्यवसायीहरुले आफ्ना छाता संघ मार्फत् रुजु गराएर विभागमा पेस गर्नुपर्ने छ।
विभागले एम्बुलेन्स,ओषधिजन्य सामग्री, औद्योगिक कच्चा पदार्थ तथा तयारी मालवस्तु बोकेको सवारीलाई पास नचाहिने जानकारी गराएको छ। त्यस्तै खाद्य सामग्री,पशुजन्य आहार,खसी बोका,कुखुरा,माछा,तरकारी तथा फलफूल बोकेका सवरीका लागि पनि पास चाहिने छैन।