नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी मैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।
बिहीबार सल्यानमा आयोजित प्रादेशिक कृषि, पर्यटन, उद्योग व्यापार मेलालाई सम्बोधन गर्दै उनले प्रदेश सरकारलाई लगानी मैत्री वातावरण निमार्ण गरिदिन आग्रह गरेका हुन्।
जिल्ला, नगर तथा प्रदेशस्तरमा हुने लगानी एवं व्यवसाय सञ्चालनका लागि कर, रजिष्ट्रेसन एवं नयाँ अनुमति लिनेजस्ता विषयमा समस्या आएका हुनाले यसलाई सुल्झ्याइ दिन आग्रह गरे।
यस्ता सानातिना समस्या प्रदेश तथा स्थानीय सरकारले समाधान गरिदिए देशका साना व्यावसायीले समेत ठूलो लगानी गर्न सक्ने उनले बताए।
प्रादेशिक रुपमा सञ्चालन हुने आयोजनाहरुको स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिने, प्रक्रियागत कुराहरुमा हुने झमेला कम गरिदिने र अहिलेको परम्परागत शैलीमा परिवर्तन गर्ने हो भने नेपालमा लगानीका सम्भावनाहरु थप बढ्ने उनको भनाई छ।