चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार ठप्प भएको छ।
काठमाडौंकाे सबैभन्दा ठूलो कालिमाटी तरकारी तथा फलफूल बजारकाअनुसार गत माघ २२ गतेदेखि लसुनको कारोबार भएको छैन।
तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठ व्यापारीहरुले लसुन नै नल्याएको बताउँछन्।
नेपाली बजार चिनियाँ लसुनले ढाक्ने गर्छ। तर, गत माघ १९ मा नेपाल र चीनबीच हुने दुई देशिय व्यापार १५ दिनका लागि बन्द भएपछि लसुनको आयात रोकिएको हो। चीनमा कोरोना भाइसरको संक्रमण फैलिएसँगै चिनियाँ नाका बन्द गरिएको हो।
आयात रोकिएपछि लसुनको व्यापार गर्ने व्यापारीहरुले लसुनको कारोबार बन्द गरेका छन्।
कारोबार बन्द हुनुपूर्व लसुनको मुल्य आकासिएको थियो। प्राय नेपाली बजारमा २ सय ५० को आसपास हुने लसुनको मूल्य पुसको अन्तबाट एक्कासि बढेको थियो।
माघ ७ मा ३ सय ५५ रहेको लसुनको मूल्य भोलिपल्टै एक सय रुपैयाँ बढेर प्रतिकेजी ४ सय ५५ रुपैयाँ पुग्यो। माघ १६ मा ६ सय ४५ पुगेको लसुन कालिमाटी बजारबाट कारोबार भएको अन्तिम दिन माघ २२ मा प्रतिकेजी ६ सय ३५ मा कारोबार भएको थियो। यो लसुनको खुद्रा मूल्य हो।