नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन्। तीन महिनाको समयसीमा दिँदै उनीहरूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन्।
विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै पाइलटले राजीनामा दिएका हुन्।
स्थायी उडान दलका सदस्यहरूले तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हुन्।
उनीहरूले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्।
पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टामात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाएँछन्। तलब भने उनीहरूले १५ लाख पाउँछन् त्यसमाथि कर पनि व्यवस्थापनले तिरिदिन्छ।
तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। नेपाली पाइलटले कर आफैंले तिर्दै आएका छन्।
पछिल्लो समय जानकारी नै नदिई वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्ष सुरूदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्टेन श्रवण रिजालले जानकारी दिए।
उनकाअनुसार तलबमा पनि विदेशी र नेपालीबीच ठूलो खाडल छ। विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्।
करारमा आएकाले विदेशीलाई धेरै सुविधा भएको भन्ने व्यवस्थापनले जानकारी दिएकाले नेपालीलाई करारमै राखोस् भनेर आफूहरू सबैले राजीनामा दिएको रिजालले बताए।
उनीहरूले मदन खरेल अध्यक्ष हुँदै राजीनामा बुझाउने तयारी गरे पनि हस्ताक्षर संकलनको काम लम्बिएकाले सकेका थिएनन्।
पाइलटले व्यवस्थापनलाई दुई विकल्प दिएका छन्। तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने। कि नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने।
यदि व्यवस्थापनले यी सबै काम गर्न नसकेमा सबै अन्तर्राष्ट्रिय उडान ग्राउन्डेड हुने पाइलटहरुले चेतावनी दिएका छन्।
एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजीनामा दिएका छन्। यसमा थप ८ जना जतिले राजीनामा बुझाउने तयारी गरिरहेका छन्।
नेपाल एयरलाइन्समा पाइलटहरूले लामो समयदेखि असन्तुष्टि राख्दै आएका थिए।