तामझामका साथ दुई-दुईपटक उद्घाटन गरिएको रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेजमा स्थापना भएको १६ वर्षमा दुईवटा मात्र उद्योग स्थापना भएका छन्।
सेजमा नेपाली लगानीमा शक्ति मिनरल्स र भारतीय लगानीमा विस्तार ग्लोबल प्रालीले उद्योग स्थापना गरेका छन्।
शक्ति मिनरल्सले जोखिम मोलेर भएपनि अघिल्लो वर्ष उद्योग संचालनमा ल्याइसकेको थियो भने एकमहिना अघि ग्लोबल प्रालीले पनि व्यवसायीक उत्पादन शुरु गरेको छ।
शक्ति मिनरल्सले स्वदेशी चुनढुंगालाई प्रशोधन गरि फाइनस्टोन, फ्लक्स, लाइनस्टोन र डोलोमाइटको उत्पादन गरी भारत निर्यात् गर्दै आएको छ।
यहाँ स्थापित विस्तार ग्लोबल प्रालिले व्यवसायिक उत्पादन समेत सुरु गरेको छ। सेजमा उद्योग स्थापना गरी व्यवसायिक उत्पादन गर्र्ने विस्तार दोस्रो उद्योग हो।
सेज स्थापनाको १६ वर्षमा बल्ल दुई उद्योगले उत्पादन थालेका हुन्। विस्तार ग्लोबलमा १५ करोड रुपैयाँ लगानी भएको छ। एक सयले रोजगारी पाएका छन्। उद्योगको मासिक उत्पादन क्षमता ३ सय मेट्रिकटन भन्दा बढी छ।
उद्योगबाट घरेलु प्रयोगमा आउने स्टीलका भाडाहरु उत्पादन हुने बिस्तार ग्लोबल प्रालीका संचालक योगेश जैनले जानकारी दिए।
स्टीलका भाडाहरु भारत, दुवई, साउदी, नाइजेरिया, अफ्रिका लगायतका मुलुकमा राम्रो माग छ।
अब यी देशहरुमा तत्काल निर्यात सुरु गर्ने उद्योग संचालकले जनाएका छन्। उद्योगीले सेजमा तत्काल फूल फेजको विद्युत, खानेपानी उपलब्ध गराउनु पर्ने र सरसफाईमा ध्यान दिनु पर्ने माग गरेका छन्।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका उपसचिव सुन्दर थापाले निर्यात प्रबद्र्धन र रोजगारी सिर्जना गरी बढ्दो व्यापार घाटा कम गर्न सेजको अवधारणा ल्याएको बताए।
उनले पछिल्लो समय सेजसम्बन्धी कामले धेरै गति लिएकाले अब उद्योगीहरु निरास हुनु नपर्ने बताए।
तर आवश्यक सेवासुविधा उपलब्धतामा भएको ढिलाइले डेढ दशकमा पनि सेजभित्र पूर्ण उद्योगहरु संचालन आउन सकेका छैनन्।
सुरुमा यहाँ स्थापित उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत विदेश निर्यात गर्नुपर्ने प्रावधान राखिएपनि विशेष आर्थिक क्षेत्र ऐन पहिलो संशोधन, २०७५ मार्फत् ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान बनाइएको छ।
यस्तै, कर छुट सुविधा नलिई एक वर्षसम्म उद्योगबाट उत्पादित वस्तु शतप्रतिशत पनि आन्तरिक बजारमा विक्रीवितरण गर्न पाइने व्यवस्था गरेको छ। यो प्रावधानले सेजमा उद्योग खोल्न चाहने उद्योगीलाई थप प्रोत्साहन मिलेको छ । ५२ विघा क्षेत्रफलमा फैलिएको सेजमा ६८ वटा प्लट छन्।