उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले घरेलु तथा साना उद्योग सरकारले प्राथमिकतामा रहेको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले आर्थिक विकासका आधारनै लघु, घरेलु तथा साना उद्योग रहेको बताए।
यसको प्रवद्र्धन र विकासमा सरकार दृढ भएर लाग्ने उनकाे भनाइ छ।
‘साना उद्योगहरुसँग सिङ्गो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ। यो क्षेत्रलाई अगाडि बढाउने कुरामा म दृढ छु’, मन्त्री भट्टले भने।
साना व्यवसायीका समस्या मन्त्रालयमा लिएर आउन समेत उनले आग्रह गरे।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए।
‘हामीले जसरी उद्योग चलाइरहेका छौं ती उद्योगहरु व्यवस्थित छैनन्। उद्योग ग्राममा नचलाइएकोले छरपस्ट भईरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको शिकार बनिरहेका छ, ’ उनले भने।
सरकारले उद्योगग्रामलाई फास्ट ट्रयाकमा लैजानु पर्ने उनकाे भनाइ छ।