आन्तरिक हवाई सेवा प्रदायक कम्पनी समिट एयरले जहाज थप गरेको छ। चेक गणतन्त्रको जहाज निर्माता कम्पनी एलइटी (लेट) ले उत्पादन गरेको ‘एल ४१० युभिपी–ई२०’ जहाज आज काठमाडौंमा अवतरण भएको छ।
मुलुकका दुर्गम क्षेत्र र पर्यटकिय क्षेत्रमा हवाई सेवा दिँदै आएको समिटले यसअघि नै उक्त सिरिजका विमान उडाइरहेको छ। एयरलाइन्सको यो चौथो जहाज हो।
यो जहाजको नेपाली दर्ता नम्बर 'नाइएन-एएनडी' रहेको छ।
दुईवटा इन्जिन भएको यो विमानमा १८ जना यात्रु अटाउने क्षमता रहेको छ। सानो धावनमार्ग भएका दुर्गमका विमानस्थलमा उडान सहज हुने छ। एयर कन्डिशनयुक्त या विमानले मुख्यगरी लुक्ला, डोल्पा तथा विभिन्न क्षेत्रमा केन्द्रित गरी उडान गर्ने एयरलाइन्सका प्रमुख कार्यकारी मनोज कार्कीले जानकारी दिए।
काठमाडौं,पोखरा र सुर्खेतलाई आधार बनाएर देशका विभिन्न क्षेत्रमा उडान गरिरहेको एयरलाइन्सले काठमाडौंदेखि फाप्लु,सुकेटार, खानीडाँडा, भोजपुर, लुक्ला, पोखराबाट मनाङ, मुस्ताङ र सुर्खेत नेपालगंजलाई आधार बनाएर सिमिकोट, जुम्ला, बाजुरा, डोल्पामा उडान गरिरहेको छ।