सन् २०२१ को मे २१ मा मुस्ताङको लार्जुङमा एक्स्ट्रिम–इ कार रेसिङ हुँदैछ। २ अर्ब खर्च हुने एक्स्ट्रिम –इ कार रेसिङ नेपाल पर्यटन बोर्डको संयोजन हुन लागेको हो।
काठमाडौं उपत्यका, लुम्बिनी जस्ता ठाउँमा सार्वजनिक यातायातका निम्ति ठुला बिजुली बस चलाउनुपर्ने बहस हुन थालेको धेरै भयो।
यो बहससँगै विद्युतिय सवारी साधनको क्षमताको बारेमा प्रश्नहरु पनि उठ्ने गरेका छन्।
मुस्ताङ जस्तो ठाउँमा गाडी चलाउनु आफैमा चुनौतीको कुरा हो। त्यसमाथि विद्युतीय एसयुभी रेस गराउने भन्दा धेरैले नपत्याउन पनि सक्छन्।
यो प्रतियोगिताले विद्युतीय सवारी साधनहरुको विश्वसनियता बढाउने सरोकारवालाहरुको साझा तर्क छ।
गाडी खरिद गर्नेहरुमा अझै पनि त्यसको क्षमताको बारेमा कौतुहलता रहेको किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिका असिस्टेन्ट जनरल म्यानेजर अनिश लामिछानेले बताए।
‘कतिपय ग्राहकहरुले विद्युतीय सवारी साधनले उकालो तान्छ कि तान्दैन, लोड तान्छकी तान्दैन, बिजुली कति खपत गर्छ, किन यती महँगो लगायतको कौतुहलता पाएको छु। यो रेसले कम्तीमा विद्युतिय सवारीको क्षमताको प्रश्न हल हुन्छ जस्तो लाग्छ,’ लामिछानेले सेतोपाटीसगँ भने।
धेरै व्यक्ति यो बारेमा पहिल्यै जानकार रहेको उनको तर्क छ।
‘कियाको फ्याक्ट्रीमा बन्दै गरेको गाडी पनि सोल्ड आउट भैसक्यो। एक्स्ट्रिम–इ कार रेसिङले सामान्य ग्राहकहरुलाई विजुलीकार पनि राम्रो हुन्छ है भन्ने म्यासेज दिन्छ जस्तो लाग्छ,’ उनले भने।
अटोमोवाइल्सको भविष्य नै विद्युतीय सवारी साधन भएकोले यो इभेन्ट नेपालको लागि राम्रो उपलब्धी भएको नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालका सचिव अनुप बराल बताउछन्।
‘विद्युतीय सवारी साधनको प्रवद्धन गर्न सर्वप्रथम जनमानसमा विद्युतिय सवारी साधनको विश्वास बढाउनु पर्छ। त्यसैले मुस्ताङ जस्तो ठाउँमा त विद्युतिय गाडीको रेस नै भयो भनेर सकारात्मक प्रचार फैलन्छ,’ बरालले भने।
यस रेसिङले विद्युतीय सवारी साधनप्रति विश्वास बढाउने हुण्डाईको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका मार्केटिङ तथा कम्युनिकेशन हेड अवाशिष ओझा बताउछन्।
‘विद्युतीय प्लेन त बनिसक्यो तर हामीले नदेखेको कारण विश्वास लाग्दैन। हाम्रै देशमा यस्तो इभेन्ट आयोजना हुँदा मिडिया मार्फत प्रचार हुन्छ र निश्चय पनि यसप्रति विश्वास बढ्छ,’ ओझाले भने।
तर रेसमा प्रयोग हुने गाडी कमर्सियल उत्पादन भने होइनन्। उच्च क्षमताका ती गाडी विशेष रुपले उत्पादन हुन्छन्। प्रायःजसो अनुसन्धानकै क्रममा उत्पादन यस्ता गाडी भविष्यमा कमर्सियल बिक्रीमा भने आउँछन्।
अहिले नै बजारमा यस्ता क्षमताका गाडी नआएपनि यस्तोसम्म प्रविधि संसारमा छ भनेर नेपालीहरुले थाहा पाउने मौका पाउछन्। जसले गर्दा बजारमा सकारात्मक प्रभाव पर्ने व्यवसायीको तर्क छ।