के तपाईं भाटभटेनी वा बिगमार्टमा तरकारी किन्ने गर्नुहुन्छ?
यी स्टोरहरूमा तरकारी किन्न जानुहुन्छ भने अब तपाईंले त्यहाँ नौलो प्रकारको तरकारीको प्याक देख्न सक्नुहुन्छ।
प्याकिङ गरिएको तरकारीको बाहिरपट्टि लेखिएको छ-‘माटो’।
के हो यो ‘माटो’ तपाईंलाई खुल्दुली हुनसक्छ।
प्याकिङमा बाहिरपट्टि ‘माटो’ लेखेको देख्नुभयो भने त्यो अर्ग्यानिक तरकारी भनेर चिन्नुहोस्।
यो बाहिरबाट आयात गरिएको होइन। न त त्यसमा विषादी नै प्रयोग गरिएको छ। त्यो नेपाली माटोमा उत्पादन गरिएको तरकारी हो।
नेपाली किसानले उत्पादन गरेका तरकारी व्यवसायिक घराना गोल्यान ग्रुपले आजबाट बजारमा ल्याएको छ। तरकारीलाई ‘माटो’ ब्राण्डमार्फत् बजारमा ल्याएको हो।
यो कुनै चाडपर्व लक्षित वा महोत्सवका लागि ल्याइएको होइन। अब ग्राहकले सधैंभरि ‘माटो’ ब्राण्डको अर्ग्यानिक तरकारी तथा फलफूल किन्न पाउने गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान बताउँछन्।
धादिङ, बाजुरा, मकवानपुर लगाएत काठमाडौंका कृषि फार्मबाट अर्ग्यानिक फलफुल तथा तरकारी सङ्कलन गरि बजारमा ल्याएको गोल्यानले जानकारी दिए। साथै गोल्यान समूहले झापामा तीन सय बिघा जग्गा किनेर तरकारी तथा फलफूल खेती गरिरहेको छ।
गोल्यानका अनुसार ग्राहकले ‘माटो’ नाम लेखिएको तरकारी देशभरका भाटभटेनी, सुपरमार्केट तथा बिगमार्टमा किन्न पाउने छन्।
ग्रुपले बजारमा ल्याएको तरकारी उपभोक्तालाई महँगो नहुने गोल्यान बताउँछन्।
ग्रुपले ग्राहकलाई सधैंभरि अर्ग्यानिक तरकारी खुवाउन धेरै जिल्लाका किसानसँग मिलेर खैती गरिरहेको छ। आफैंले पनि खेती गरेको छ।
ग्रुपले अर्ग्यानिक खेतीका लागि झापाको चकचके, घेराबारी, राजगढ, मदरगाढ लगायत विभिन्न ठाउँमा तीन सय बिघा जग्गा किनेको गोल्यानले जानकारी दिए।
त्यहाँका जग्गामा स्ट्रबेरी, कागती, ड्रयागन फ्रुट, धान, मेवा, लगायत मौसमी तरकारी तथा फलफूल लगाउने गोल्यान एग्रो प्रालिका कार्यकारी निर्देशक सलिल कुमार श्रीवास्तवले जानकारी दिए।
उनका अनुसार ग्रुपले चकचकेको ५ बिघामा कागती, १० बिघामा धान र १० बिघामा खर्बुजा लगाएको छ।
त्यस्तै, राजगढमा ३० बिघा जग्गामा स्ट्रबेरी लगाउने योजना बनाएको छ।
मदरगाढमा २.२५ बिघा जग्गामा ड्रयागन फ्रुट, ३.८ बिघा जग्गामा मेवा र १.५६ बिघा जग्गामा कागती लगाउन लागेको उनले बताए।
उनका अनुसार घेराबारीको १० बिघामा आँप, १२ बिघामा कागती र बाँकीमा आयुर्वेद औषधिका लागि प्रयोग हुने अन्य वनस्पती लगाउन लागेको छ।
ग्रुपले उत्पादनका लागि बिउ छिमेकी मुलुक भारतबाट ल्याएको छ। आगामी वर्ष आफैं बिउ उत्पादन गर्ने समेत उनले जानकारी दिए।
बिउ लगानीलाई संरक्षण गर्न बिउ कम्पनी खोल्ने ग्रुपको योजना छ।
उत्पादन भएका सामान ग्रुपले ‘माटो’ ब्राण्डमार्फत् नेपालमै बेच्ने छ। नेपालमा बेचेर बढी भएका सामान भने विदेश निर्यात गर्ने ग्रुपको योजना छ।
ग्रुपले आफूसँग सहकार्य गरेका किसानको मात्र नभई अन्य किसानले उत्पादन गरेको अर्ग्यानिक तरकारी पनि आफूहरूले लिने ग्रुपकी निर्देशक लतिका गोल्यानले बताइन्।
‘हामी तरकारीको विषादी परीक्षण गर्छौं। कुनै विषादी नहाली तरकारी उत्पादन गरेको छ भने जसको पनि लिन्छौं’, उनले भनिन्।
कृषि उत्पादनमा विषादी प्रयोगले रोग बढ्दै गएकाले आफूहरूले अर्ग्यानिक खेती उत्पादन बजारमा ल्याउन लागेको उनले बताइन्।
कृषि उत्पादनलाई अर्ग्यानिक बनाउँदै लैजाने लक्ष्य लिइएको उनले बताइन्। गाउँगाउँमा गएर किसानसँग समन्वय गर्न उनीहरूले ‘जयन्त गोल्यान फाउन्डेसन’ स्थापना गरेका छन्।
यो फाउन्डेसनमा विभिन्न गाउँहरू जोडेर त्यहाँका किसानलाई अर्ग्यानिक खेती सिकाइने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने उनले जानकारी दिइन्।
माटो ब्राण्डका तरकारी बजारमा आएसँगै अब किसानले तरकारी फ्याँक्नु नपर्ने दाबी ग्रुपले गरेको छ।
'किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी तथा फलफूल गोल्यान ग्रुपले किनिदिनेछ,' अध्यक्ष गोल्यानले भने।