भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जर्मन कम्पनी म्युनिख एयरपोर्ट इच्छुक देखिएको छ। उसले विमानस्थल सञ्चालनको जिम्मा आफूलाई दिन नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ।
सरकारले जर्मन सरकारको पनि स्वामित्व भएको कम्पनीले विमानस्थल सञ्चालनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणसँग औपचारिक प्रस्ताव गरेको हो।
खुला प्रतिस्पर्धाबाट नभइ दुई सरकारबीचको सम्झौताबाट विमानस्थल सञ्चालक छनोट गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ।
सोही आधारमा अन्य देशका पनि प्रस्ताव आएको र अहिले छलफल भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए।
जर्मन सरकारको २६ प्रतिशत स्वामित्व भएको म्युनिख विमानस्थललाई गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा दिनेबारे प्राधिकरण र मन्त्रालय सकारात्मक देखिएका छन्।
यद्यपी अहिले अन्य प्रस्तावका बारेमा पनि छलफल गर्नका लागि प्राधिकरणले प्राविधिक समिति बनाउने र सोही समितिको सिफारिसको आधारमा छनोट गरिने सापकोटाले जानकारी दिए।
म्युनिखले उक्त विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ।