संचय कोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि नेपाल वायुसेवा निगमलाई किस्तामा पनि ब्याज लगाउने भएको छ । निगमले दुई वाइडबडी जहाज खरिदका लागि लिएको ऋणको किस्ता तिर्न नसकेपछि किस्तालाई पनि ब्याज लगाउने निर्णय गरेको हो ।
पुष, चैत र असारको किस्ता नतिरेको निगमलाई अहिलेसम्म ९ करोड ४५ लाख जरिबाना लाग्ने भएको छ। ऋणको ब्याज सरह लगाउने निर्णय भएछि हालसम्मको बाँकी १ अर्ब २० करोडको १०.५ प्रतिशतले ९ महिनामै नेपाल एयरलाइन्सको दायित्व थप हुने भएको छ।
सरकार जमानी बसेर संचय कोष र नागरिक लगानी कोषबाट निगमले दुई जहाज किन्न १२/१२ अर्ब ऋण लिएको थियो ।
त्रैमासिक रुपमा ४०/४० करोड बुझाउने गरि दुबै कोषले ऋण सम्झौता गरेका थिए । तर निगमले ‘विजनेस प्लान’ अनुसार जहाज चल्न नसकेपछि किस्ता तिर्न नसकेको बताउँदै आएको छ ।
कोषले निगमले असार मसान्तसम्म तिर्नुपर्ने किस्तामा पनि साँवाकै दरमा ब्याज लगाउने निर्णय गरेको हो ।
निगमले दुबै कोषबाट १५ वर्षको लागि ऋण लिएको थियो ।
नागरिक लगानी कोषलाई १ अर्ब १७ करोड तिर्न बाँकी
वाइडवाडी किन्ने बेलामा निगमले नागरिक लगानी कोषबाट लिएको १२ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन । लगानी कोषमा पनि निगमले त्रैमासिक रुपमा ४० करोड तिर्नुपर्ने सम्झौता भएको थियो ।
निगमले पहिलो पटक २८ करोड तिरेको लगानी कोषले जनाएको छ तर, त्यसपछि भने कुनै किस्ता तिरेको छैन ।
‘असार मसान्त सम्म निगमले कोषलाई १ अर्ब १७ करोड तिर्न बाँकी भएको छ,’ कोषका प्रवक्ता उद्धव सिलवालले भने, ‘निगमले किस्ता नतिरेपछि कोषले अर्थ मन्त्रालयलाई पत्र पठाएको छ, मन्त्रालयबाट कस्तो जानकारी आउछ त्यहि अनुसार कोष अघि बढ्छ ।’
किस्ता नतिरकोमा अहिले नै निगमलाई कारबाही गर्ने निष्कर्षमा नागरिक लगानी कोष भने पुगेको छैन।