सरकारले अन्तशुल्क नियमावलीमा संशोधन गर्दै कच्चा पदार्थबाट उत्पादन हुने तयारी वस्तुको अनुपातिक मात्रा निर्धारण हेरफेर गरेको छ।
विशेषगरी मदिराजन्य पदार्थको उत्पादनमा कच्चा पदार्थको अनुपातमा हुने उत्पादनलाई आधार मानी कर निर्धारण गर्ने सरकारले यस्तो व्यवस्था गरेको हो।
अन्तशुल्क नियमावली २०५९ को नियम ३४ मा एक क्वीन्टल अन्नको दानाबाट ४२ लिटर इनाथोल उत्पादन गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि ३० लिटर उत्पादन हुने व्यवस्था थियो। यसरी उत्पादनको अनुमान गर्दा सोहीअनुसार अन्तिम वस्तु उत्पादन हुने र अन्तशुल्क कर पनि सोहीअनुसार तिर्नुपर्ने भएको छ।
त्यस्तै फलफूलबाट बन्ने वाइनको मात्रा पनि तोकिएको छ। यसमा अबदेखि १ किलो फलफूलबाट १२ प्रतिशत अल्कोहल भएको २ लिटर वाइन उत्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ। अल्कोहलको प्रतिशतलाई आधार मानेर अन्तिम वस्तुको अनुमान गरिने छ।
मदिरा उत्पादकले कच्चा पदार्थ धेरै खरिद गरेको देखाएर खर्च बढाउने तर अन्तिम वस्तु थोरै देखाएर कर छली भएको आशंकमा नयाँ व्यवस्था ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ।