आर्थिक वर्षको शुरुदेखि नै नेपाल आउने विदेशी लगानी सुस्त रहेको छ। उद्योग विभागको वैदेशिक लगानीका उद्योग दर्तामा कमीमात्र होइन वास्तविक लगानी प्रवाहमा पनि कमी आएको छ।
शुरुदेखि नै सुस्त रहेको लगानी वर्षको उत्तरार्धतिर आउँदा पनि खासै बढ्न सकेको छैन। अघिल्लो वर्षको तुलनामा यो साउनदेखि जेठसम्म २५ प्ततिशत लगानी घटेको छ।
गएको वर्षको ११ महिनामा ११ अर्बं ८० करोड नेपाली रुपैयाँ बराबरको विदेशी लगानी आएको छ। अघिल्लो वर्षको तुलनामा यो २५ प्रतिशत कम हो। अघिल्लो वर्ष यही अवधिमा १५ अर्ब ८७ करोड रुपैयाँ बराबरको लगानी आएको थियो।
उच्च बृद्धिको लक्ष्य राखेको सरकारले निजी र वैदेशिक लगानीको ठुलो अपेक्षा राखेको छ। अर्थमन्त्री खतिवडाले पत्रकार सम्मेलन नै गरेर सरकार निजी र वैदेशिक लागनीको लागि जस्तोसुकै नीतिगत सुधार गर्न तयार रहेको उद्घोष पनि गरेका थिए।
नेपलामा कूल १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी भएको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सर्भे अनुसार २५२ फार्ममा चुक्ता पूँजी भने एक तिहाईमात्र रहेको छ।
३७ कम्पनीमात्र उत्पादनमुलक छन् भने बाँकी सबै सेवा, व्यापारमा छन्। त्यसमा ११ फार्मले निर्यात गर्छन्।
निर्यात गर्ने कम्पनीमा ३ वटा उपभोग्य वस्तुको उत्पादन र ८ वटाले औद्योगिक वस्तु उत्पादन गर्ने गरेका छन्। त्यस्तो लगानीको रिजर्भ रकम नेपालमै लगानी हुन्छ वा फेरि विदेश जान्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन।