भारतबाट रुपन्देहीको बेलहिया नाकाहुँदै भित्रने तरकारीमा घातक विषादी प्रयोग हुने गरेको पाइएको छ।
यो नाकाबाट भित्रिएको आलुको नमूना परीक्षणगर्दा खान नमिल्नेगरी विषादी प्रयोग भएको पाइएको हो । बेलहिया नाकाहुँदै भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा प्राणघातक ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ नामक घातक विषादीको उच्च प्रयोग गरिएको पाइएको हो ।
सर्वोच्च अदालतको आदेशपछि अहिले बुटवलको फलफूल तथा तरकारी थोकबजार केन्द्रमा रहेको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाईमा तरकारी तथा फलफूलको विषादी परीक्षण सुरु गरिएको छ ।
क्वारेन्टाईन कार्यालय बेलहियाका बाली संरक्षण अधिकृत विष्णुप्रसाद काफ्लेले प्रयोगशालामा परीक्षण गरिएको दुई ट्रक आलुको नमूनामा अर्गानोफस्फेट ४० दशमलव ५८ र कार्वामेट ४४ दशमलव १८० प्रतिशतसम्म पाईएको बताए । जुन तोकिएको मापदण्डभन्दा धेरै हो ।
काफ्लेका अनुसार २७ र २८ गते दुईवटा ट्रकको आलुको नमूना परीक्षणगर्दा सुरक्षित सिमाभन्दा धेरै विषादी पाईयो। विषादीको मात्रा धेरै पाईएपछि त्यसलाई पैठारी नगरी भन्सारमा राखिएको र आईतबार पुनः परीक्षणगर्दा विषादीको मात्रा कम भएको पाईएपछि नेपाल पैठारी गरिएको उनले बताए ।
सरकारले ३५ प्रतिशतसम्म अर्गानोफस्फेट र कार्वामेट विषादी प्रयोग गरिएको तरकारी तथा फलफूल उपभोग गर्न योग्यभन्दै भन्सार पास गर्न अनुमति दिँदै आएको छ । यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म विषादी मिसिएको कृषि उपज २÷३ दिन भन्सार विन्दुमै राखेर पुनः परीक्षण गरी विषादीको मात्रा घटेपछि निकासीगर्दै आएको छ भने ४५ प्रतिशभन्दा माथि विषादी प्रयोग गरिएको पाइए भारततर्फ नै फिर्ता गर्ने गरिएको काफ्ले जानकारी दिए ।
तर कृषिविज्ञहरु अर्गानोफस्फेट र कार्वामेट नामक विषादी तरकारी तथा फलफूलमा न्यून मात्रामा प्रयोग गरिएपनि घातक हुने बताउँछन् । यस्ता विषादीहरुको सेवनले क्यान्सर, मुटुमा प्वाल पर्ने, फोक्सोको समस्या, छाला, बच्चामा टाउको ठूलो हुने, विकलाङग हुने, आँखामा समस्या हुने, मन्द बुद्धि हुने जस्ता समस्या देखिने चिकित्सकहरु बताउंछन् ।
अहिले क्वारेन्टाइन कार्यालयका कर्मचारीले बुटवलमा रहेको प्रयोगशालाबाट विषादी जाँचगर्दै आएका छन् । बेलहिया नाकाबाट दैनिक सानाठूला गरी १ सयको हाराहारीमा तरकारी तथा फलफूल बोकेका गाडी नेपाल भित्रिन्छन् ।
ती सबैको विषादी परीक्षण बुटवलमा हुन्छ। प्रयोगशालाको तथ्यांकअनुसार यहाँबाट भित्रिनै सबै गाडीको तरकारी तथा फलफूलमा १० देखि ४५ प्रतिशतसम्म अर्गानोफस्फेट र कार्वामेट विषादी प्रयोग भएको पाइएको छ ।
नेपालमा २९ प्रकारका विषादी प्रयोग भएका तरकारी तथा फलफूल आयात हुँदै आएपनि अर्गानोफस्फेट र कार्वामेट बाहेक २७ प्रकारका विषादी मेसिनरी सामान र जनशक्ति अभावमा परीक्षण गरिँदैन।