प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजारको अध्ययन गरेरमात्र पूर्वाधार एवं उद्योगमा लगानी गर्न उद्योगीहरूलाई आग्रह गरेका छन्।
उनले बजारको अध्ययन नगरी लगानी गर्दा लगानी जोखिममा परेको भन्दै बजारको आवश्यकता र उपभोक्ताको मागअनुसार पूर्वाधार एवं उद्योगमा लगानी गर्नुपर्ने बताए।
नेपाल उद्योग परिसंघले बुटवलमा आयोजना गरेको प्रदेश स्तरिय छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सफल भएकाहरूलाई पछ्याउने तर बजारको अध्ययन नगरी लगानीको क्षेत्र खोज्ने परम्पराकै कारण लगानी जोखिममा पर्ने गरेको बताए।
उनले बैंकिङ प्रणालीमा आधारित भएर पुँजी परिचालन गर्नसमेत उद्योगीहरूलाई आग्रह गरे।
बैंकिङ प्रणाली बाहेक बाहिरबाट पुँजीलाई परिचालन गर्दा पनि जोखिम बढ्ने भएकाले बाहिरबाट पुँजी परिचालन नगर्न उनले आग्रह गरे।
बैंकिङ प्रणालीको सुनिश्चितता नहुँदासम्म पूर्वधार क्षेत्रको लगानी सम्भावना नभएको मन्त्री पोखरेलको भनाइ छ।