नीरू आङबुङ ढाका व्यापार गर्छिन्। आफ्नै गृहजिल्ला तेह्रथुमको ढाकालाई उनले विभिन्न डिजाइन गरेर बेच्न थालेको ६ वर्ष भयो। ललितपुर, महालक्ष्मीस्थानबाट भित्र पर्ने मिलन चोकमा उनको 'तेह्रथुमे ढाका' बुटिक छ।
नीरूका दिन यहीँ बित्छन्।
बुटिकमा रूमाल, थैलीदेखि गाउन, चौबन्दी, कुर्ती, साडी, दौरा सुरुवाल र कोटसम्म पाइन्छ। कपडाको डिजाइन र प्रकारअनुसार मूल्य तोकिएको छ। साडी भने ७ देखि २५ हजार सम्मका पाइन्छन्। यी सबैखाले कपडामा ढाका मिसाइएको हुन्छ।
'कुनै समय ब्रुनाइदेखि ल्याइने समान अहिले म आफैं बनाउँछु। ज्वारीकोट, इस्टकोट पनि छन्,' नीरूले भनिन्, 'सबै तेह्रथुमबाट ल्याएको ढाकाबाट बनाइने हो। डिजाइन पनि यहीँ, तयार पनि यहीँ गर्ने।'
उनले होलसेलबाट ल्याइएका फेन्सी कपडा पनि डिजाइन गरेकी छन्। थोरै भए पनि ढाका मिसाएर तयार गरिएको नीरू बताउँछिन्।
ढाकालाई विभिन्न डिजाइनमा ढालेर आकर्षक लुगा बनाउन खप्पीस नीरूले बुटिककै लागि कुनै विशेष तालिम भने लिएकी छैनन्। तै उनको लगावले डिजाइन गरेका कपडाको माग धेरै भएको उनी बताउँछिन्।
'मैले डिजाइनिङ कोर्ष हैन, तीन महिनाजति सामान्य सिलाइकटाइ सिकेकी हुँ,' उनले भनिन् 'सानैदेखि सोख थियो। तयारी लुगा ल्याइदियो कि त्यसको तुना चुँडाउने वा गोजी निकालेर बेग्लै खाले बनाउने बानी थियो। सायद यही काम गर्नलाई रहेछ।'
एसएलसी पास गरेर क्याम्पस पढ्न आएकी नीरूले स्नातक पढ्दै गर्दा काम गर्ने सोच बनाएकी थिइन्। आफ्नो गृहजिल्लामा देख्दै आएको ढाका नै उनले रोजिन्। छ वर्षअघि उनले 'तेह्रथुमे ढाका' खोलिन्।
'मैले तेह्रथुमकै ढाका किन रोजेँ भन्ने चाहिँ मलाई पनि थाहा छैन, तर सुरूमै आएको सोच यही नै हो,' उनले विगत सम्झिँदै भनिन्, 'सुरूमा एक-दुई पिस ल्याएर काम थालेँ। राम्रो भएपछि विस्तार गरेँ।'
उनका ग्राहकहरू विशेषगरी विदेश बस्ने नेपालीहरू हुन्।
'यहाँको सामान जाने विदेश नै हो। यहाँ बस्नेले भन्दा विदेशमा बस्ने नेपालीहरूले मन पराउनुभएको छ,' आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, 'बरू विदेशमा बस्नेले लगाएको देखेर यहाँ लगाउनेहरू हुनुहुन्छ।'
अहिले उनको बुटिकमा विदेशीहरू नै पनि आउन थालेका छन्। उनीहरूले हातैले बनेको सामान भनेपछि झनै मन पराउने उनको अनुभव छ।
'विदेशी र हाम्रो रोजाइ फरक छ हुने रहेछ। विदेशीहरू हल्का रङ र सादा मन पराउँछन् भने हामीहरू झिलिक्क रङ बढी खोज्छौं,' उनले भनिन्।
युवा अवस्थादेखि नै नेपालमै बसेर केही गर्न खोज्दा अवसर भएको भन्दै उनी आफूलाई बाँच्न सजिलो भएको बताउँछिन्। कामले नै उनलाई विदेश बस्ने धेरै नेपालीमाझ लोकप्रिय बनाएको छ।
व्यवसाय सुरू गरेदेखि उनलाई फर्किएर हेर्न परेको छैन। तेह्रथुमबाट संकलन गरेर ल्याइएका ढाकाले उनलाई खुसी दिएको छ। मागअनुसार ढाका नपाइँदा भने उनलाई असजिलो हुन्छ।
भन्छिन्, 'अरू सामान सजिलै पाइन्छ, ढाका भने मुश्किल। ग्राहकले भन्नसाथ समान दिन सकिएको छैन।'
जे भए पनि देशकै उत्पादन ढाकालाई यसरी प्रयोग गरेर फैलाउँदै जान पाएकोमा उनलाई गर्व लाग्छ।
'बुटिकको काममा धेरै जस पाइँदैन। तारिफसँगै धेरै गुनासा पनि आउँछन्,' उनले भनिन्, 'काम गाह्रो नै छ। तर ग्राहकले जे-जस्तो भने पनि सकारात्मक नै लिन्छु।'