चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि बैशाखसम्मको वित्तीय स्थितिअनुसार व्यापार घाटा १० खर्ब ९९ अर्ब पुगेको हो।
दश महिनामा ७८ अर्ब रुपैयाँको नेपाली उत्पादन विदेश निर्यात भएको छ। तर यही अवधिमा ११ खर्ब ७८ अर्ब रुपैयाँको सामान भित्रिएको छ। कुल वस्तु निर्यात १८.१ प्रतिशतले बढ्दा आयात १९. ६ प्रतिशतले बढेको छ। प्रतिशतका आधारमा आयात र निर्यातको वृद्धिदर उस्तै रहे पनि निर्यात हुने सामानको मूल्य कयौं गुणा ठूलो भएकाले व्यापार घाटा चुलिँदै गएको छ।
निर्यातका आधारमा भारततर्फ ३१.९ प्रतिशत र अन्य मुलुकतर्फ २.३ प्रतिशतले निर्यात वृद्धि भएको छ। चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमी आएको छ।
वस्तुगत आधारमा पोलिष्टर, यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटी लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ।
त्यस्तै आयाततर्फ भारतबाट १७.२ प्रतिशत, चीनबाट ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ।
सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेक अन्य मुख्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ। आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो।
रेमिट्यान्स बढ्यो
व्यापार घाटालाई धानेको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा १९.६ प्रतिशतले बढेको छ। दश महिनामा ७२५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स ९.३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा
अवधिमा ५.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.२ प्रतिशतले घटेको थियो।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा बढेर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड पुगेको छ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोडले घाटामा थियो।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी.९ अर्ब ४७ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी .१५अर्ब ५१ करोड रहेको थियो।