खारेज भएका यातायात व्यवसायी समितिको नाममा रहेको बैंक खातामा जम्मा भएको रकम यातायात कम्पनीको नाममा रहेको खाता जम्मा हुने भएको छ।
गत जेठ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कम्पनीमा रूपान्तरण भएका साविकका समितिको नाममा रहेको बैंक खातामा जम्मा भएको रकम कम्पनीको नाममा रहेको खातामा जम्मा गर्न पाउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
त्यसैगरी कम्पनी दर्ता गर्ने सम्बन्धमा यही असार मसान्तसम्म पूर्ववत: रूट प्रदान गरी सहजै यातायात सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई जिम्मा दिएको छ।
कम्पनीमा रूपान्तरण भएका साविकका समिति अन्तर्गत सञ्चालित यातायातका साधन सम्बन्धित यातायात कार्यालयमा पञ्जिकृत गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिएको छ।
साविकका यातायात समितिलाई स्थायी लेखा नम्बर प्रदान गर्ने, चुक्ता पुँजी व्यवस्थापन गर्ने सम्बन्धमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, र अर्थ मन्त्रालयलाई आवश्यक समन्वय र सहजीकरण गर्न पनि मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएको हो।
सरकारको यो कदम स्वागतयोग्य भए पनि अन्य धेरै कुरामा ध्यान दिनु पर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘यो अन्तिम काम होइन, दुर्घटना हुँदा पहिले यातायात समितिले व्यहोर्थे अब यसलाई कसरी लैजाने। यहाँ सधैँ बार्गेनिङ हुने गर्छ। बीमाबारे अक्षरश: पालना हुनु पर्ने नियम बनाउनुपर्छ,’ उनले भने।
कम्पनीको अभ्यास नयाँ भएकोले पछि आउने समस्याको लागि पनि सरकारले अविभावकत्व निर्वाह गर्नु पर्ने उनको तर्क छ।