काठमाडौं महानगरपालिकाले लामखुट्टे, साङ्ला, उडुस लगायत कीरा मार्ने विषादी बेचबिखनमा कडाई गर्ने भएको छ। यस्तो विषादीको मात्रा र असर समेत नबुझी प्रयोग बढेपछि त्यसलाई नियमन गर्न लागिएको हो।
यस्ता विषादी किराना पसल देखि चिया पसलसम्म बेचविखन हुने भएकोले मानव स्वास्थ्यमा समस्या पार्ने काठमाडौं महानगरपालिका, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए।
यस्ता विषादी बेच्न छुट्टै पसलको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्। ‘अहिले कृषि प्रयोजनको लागि प्रयोग हुने मल विषादीको लागि तालिम दिएर लाइसेन्स दिएजस्तै लामखट्टे, बिच्छी, उडुस, मुसा लगायत जीव मार्न प्रयोग गरिने धुप, विषादीको पनि लाइसेन्सको व्यवस्था गर्नुपर्ने आवश्यकता देखियो’ भण्डारीले सेतोपाटीसँग भने।
यो कामको लागि कानुनी अड्चन रहेकोले केही समय लाग्न सक्ने भण्डारीले बताए। ‘हामी अहिले प्रारम्भिक चरणमा छौँ। नीतिगत व्यवस्थाका लागि केही समय लाग्छ। स्थानीय स्तरमा ऐन कानुन बनेपछि बल्ल योजना कार्यान्वयन तिर जान्छौँ’ उनले भने।
कीरा मार्ने विषादी मानव स्वास्थ्यको लागि समेत हानीकारक हुने भएकाले बेचबिखनमा कडाई गर्नैपर्ने डा. मनोज कुमार यादव (कन्सल्टेन्ट फिजिसियन) बताउँछन्।
‘खाद्यान्न र विषादी एकै ठाउँमा राख्दा बट्टा लिक छ भने त्यसले धेरै समस्या ल्याउन सक्छ। कुनै पनि प्रकारको विषादीसँग सहज पहुँच हुनु हुँदैन,’ उनले भने ‘ एउटा लामखुट्टे भगाउने धुप बाल्नु र ५ सय चुरोट खानु बराबर हो। सकेसम्म यसको प्रयोग गर्नु हुँदैन।’