लामो समयदेखि हवाई सेवाप्रदायक कम्पनीहरुले उठाउँदै आएको हवाईजहाज तथा हेलिकप्टरका पाटपुर्जा आयातमा लाग्दै आएको मूल्यअभिबृद्धि कर सरकारले छुट दिएको छ। बजेटसँगै आएको आर्थिक ऐनबाट सरकारले यो व्यवस्था ल्याएको हो।
यसअघि भन्सार १ प्रतिशतमात्र लाग्ने भएपनि जहाजका पाटपुर्जामा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिबृद्धि करका कारण व्यवसाय गर्न कठिन भएको बताउँदै आएका थिए।
आन्तरिक हवाई सेवालाई सर्वत्र र विश्वासनीय बनाउने तथा अन्तर्राष्ट्रिय उडान गर्ने घरेलु एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउनका लागि सरकारले भ्याट छुट दिनुपर्ने व्यवसायीले माग गर्दै आएका थिए।
आर्थिक ऐनमार्फत् सरकारले २ हजार किलो तौलका हेलिकप्टर तथा १५ हजार किलोसम्मका जहाज र तीनका पाटपुर्जा आयातमा लाग्ने मूल्यअभिबृद्धि कर हटाइदिएको छ।
तर लिजमा ल्याएका जहाजमाथि लाग्दै आएको कर भने सरकारले यथावत राखेको छ।
हवाई जहाज तथा हेलिकप्टर र तीनका पाटपुर्जामा आयातमा भन्सार भने १ प्रतिशतमात्र रहेको छ। यसअघि जहाजमा पनि भ्याट भने लाग्दैनथियो। सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सरकारले हवाई सेवालाई सस्तो र प्रतिस्पर्धी बनाउन सहुलियत तथा छुट दिने रणनीति लिएको छ।
हाल नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने ३ वटा एयरलाइन्स रहेका छन्। वार्षिक १ खर्ब बढीको हवाई व्यापारमा ८५ प्रतिशत हिस्सा विदेशी एयरलाइन्सहरुको रहँदै आएको छ।