नेपालले चिनियाँ भुक्तानीमाध्यम अलीपे र वीच्याटमाथि प्रतिबन्ध लगाएपछि चीनले पहिलो पटक औपचारिक प्रक्रिया दिएको छ। नेपालस्थित चिनियाँ दूतावासका वाणिज्य कन्सुलर झ्याङ फ्यानले नेपालले चिनियाँ भुक्तानी सेवाप्रदायकलाई बाटो बन्द गर्नुको साटो वैधानिक गर्नु पर्ने बताए।
चिनियाँ पर्यटकका लागि सजिलो भुक्तानीको माध्यमलाई बन्द गरेपछि निरूत्साहित हुने उनको तर्क छ।
पछिल्लो समय नेपाल आउने चिनियाँहरुको संख्या बढेको भन्दै उनले यो ट्रेन्डलाई निरन्तरता दिनका लागि पनि नेपाली पक्षले पहल गरेर वैधानिक बनाउनु पर्ने उनले बताए।
अहिले नेपालमा चीनकै भुक्तानी सेवाप्रदायक युनियन पेले सेवा दिइरहेको र अलीपे र वीच्याटले पनि नेपालमा भुक्तानी सेवा दिन सहकार्य गर्न तयार रहेको उनले बताए।
‘नेपालमा वी च्याट र अलिपेबाट भुक्तानी प्रतिबन्ध भएपछि हामीले चीनमा उनीहरूका प्रतिनिधिसँग कुरा गरेका थियौं। उनीहरू वैधानिकलाई रूपमा यहाँ आउन चाहन्छन्,’ बिहीबार बिहान दूतावासमा भएको कार्यक्रममा फ्यानले भने,‘भ्रमण वर्ष मनाउन लागेको नेपाल यस्ता प्रविधिमैत्री कुरालाई बन्द गर्ने होइन बरू खोल्नका लागि पहल गर्नुपर्छ।’
गत सोमबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले विदेशी भुक्तानी सेवाप्रदायकसँग सम्बद्ध पिओएस मेसिन, क्वीआर कोड स्क्यानरजस्ता पद्धति प्रयोग गरी भुक्तानी गर्नु नेपालमा गैरकानूनी भएकोले यसरी भुक्तानी गरेको पाइएमा विदेशी विनिमय अपचलन हुने चेतावनी पनि दिएको थियो।
विदेशी मुद्रा अपचलनको कसुरमा कारबाही गर्ने चेतावनी दिएको बैंकले नेपालमा अनुमति पाएकोबाहेक अरू कम्पनी वा सिस्टमबाट यस्तो भुक्तानी गर्न नहुने प्रष्ट पारेको छ।
बैंकले चिनियाँ अनलाइन भुक्तानी सेवा प्रणाली वीच्याट र अलिपेको नामै लिएर प्रतिबन्ध भएको कुरा प्रष्ट पारेको छ।
चीनबाट नेपाल आउने पर्यटकले त्यहाँको डिजिटल भुक्तानी टुलको प्रयोग गरी नेपालमा सेवा लिने गरेका थिए।
ठमेल, बसन्तपुर तथा पोखराजस्ता पर्यटकीय क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, गेष्टहाउस, ट्राभल एजेन्सीजस्ता ठाउँमा वीच्याट र अलिपेबाट भुक्तानी लिने गरेका छन्। यसरी भुक्तानी गर्दा नेपालमा कारोबार देखिँदैन।
यसरी भुक्तानी स्वीकार गरिन्छ भनेर बसन्तुपरको एउटा रेष्टुरेन्टले बोर्ड नै राखेको थियो।
यसरी पैसा तिर्दा पर्यटकलाई नगद बोक्ने झन्झट त हुँदैन तर व्यवसायीलाई नेपालमा कमाएको पैसा सरकारलाई थाहा नदिइ विदेशमा लिन पाइन्छ।
चिनियाँ लगानीकर्ताले खोलेका संस्थाहरूमा यस्तो प्रवृत्ति बढिरहेको नेपाली व्यवसायीले बताउँदै आएका छन्।
यसरी भएको भुक्तानी चीनबाट नेपाल सामान ल्याउँदा खर्च गरिन्छ, चिनियाँ व्यवसायीले त बिना कुनै प्रक्रिया नेपालमा कमाएको पैसा आफ्नो देश लिन पाउँछन्।
कानूनतः नेपालमा कुनै पनि भुक्तानी सेवा सञ्चालन गर्न अनुमति लिनुपर्छ। इन्टरनेटको माध्यमबाट कसैले भुक्तनी गर्न चाहे नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ।
वीच्याट र अलिपेले भने नेपालमा अनुमति लिएका छैनन्।
अनुमति नलिई वैदेशिक मुद्राको समेत भुक्तानी सेवा दिइरहेका अलिपे वीच्याट नेपाली उपभोक्तामाझ पनि लोकप्रीय बन्दै गएको छ। कतिपयले चीनबाट अनलाइन किनमेल गर्न वीच्याटबाटै भुक्तानी गर्दै आएका छन्।