उद्योगी व्यवसायीहरुले व्याजदर घटाउन र आयातमा कसिलो नीति लिन सुझाव दिएका छन्।
आगामी बजेटका लागि राष्ट्र बैंकले सुझाव संकलनका लागि गरेको छलफल कार्यक्रममा व्यवसायीहरुले व्याजदर नघटेको गुनासो गरे। उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले स्प्रेड दर नै घटाएर व्याजदर घटाउन सुझाव दिएका छन्।
हाल बैंकहरुको स्प्रेड दर अधिकतम ५ प्रतिशत तोकिएको छ। यो दरलाई आगामी असार मसान्तभित्र साढे ४ मा झार्नुपर्ने व्यवस्था गरिएको छ। तर यो पनि उच्च भएको भन्दै गोल्छाले ३ प्रतिशत कायम राख्न सुझाव दिए।
‘अहिलेको उच्च व्याजदरका कारण आयातित बस्तुसँग प्रतिस्पर्धी हुन सकेनौँ, व्याजदर घटाउनेगरी नीतिहरु ल्याउनुपर्यो’ उनले भने। अहिले व्याजदर घटेको भनी हल्ला चलाइए पनि उद्योगीहरुले महसुस गर्न नपाएको उनले गुनासो गरे।
उत्पादनका क्षेत्रमा जाने कर्जाको व्याजदरलाई एकल अंकमा झार्न उनले सुझाव दिए। बैंकहरुले आधार व्याजदरमा जोड्ने प्रिमियम दर ४ प्रतिशतभन्दा बढी हुन नहुनेमा उनको जोड छ। कतिपय बैंकहरुले कर्जामा जाने व्याजमा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम दर जोड्दै आएका छन्।
उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारी विकास खर्च समयमै नहुँदा बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुने गरेको भन्दै विकास खर्चमा जोड दिए।
साथै उनले आयातमा कसिलो नीति अवलम्वन गर्न सुझाव दिए। ‘अनावश्यक धेरै सामानहरु पनि आयात हुने गरेको छ, त्यस्ता सामानको आयात रोकेर गुणात्मक सामानलाई मात्रै दिनुपर्छ’ उनले भने।
आयात नीतिमा निकै खुकुलो हुँदा अनावश्यक सामान भित्रिएको र त्यसले व्यापार घाटा समेत बढ्दै गएकोमा उनले राष्ट्र बैंकको ध्यानाकर्षण गराए।
सो कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने अहिले पनि बैंकहरुमा तरलताको समस्या रहेको बताए। त्यसका लागि समयमै विकास खर्च बढाउनुपर्ने उनको जोड छ।
सामाजिक उत्तरदायित्वका लागि खर्चिएको रकममा समेत कर तिर्नुपर्ने अवस्था रहेको भन्दै उनले कर संरचनामा परिवर्तन गर्नुपर्ने बताए।