भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम असारसम्म सम्पन्न गर्ने आयोयोजनाको लक्ष्य छ। दुईपटक म्याद थप गरेर सन् २०१९ को जुनसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त विमानस्थलमा अहिले धमाधम काम भइरहेको छ।
यही आयोजना बनाउनका लागि ल्याउने ढुंगा गिट्टीको रोयल्टी २ गुणा बढेको छ। विमानस्थलका लागि बालुवा, गिट्टी, ढुंगा निकाल्ने ठेक्का पाएको स्वसाम कन्ट्रन्सन प्रालिलाई बुटवल उपमहानगरपालिकाले ९ रुपैयाँ प्रतिघनटिमर रोयल्टी बढाएको छ।
फागुनसम्म प्रतिघनमिटर ६ रुपैयाँमा ल्याइरहेको भएपनि बैशाख ९ गतेदेखि मूल्य नगरपालिकाले कर बढाएको निर्माण कम्पनीले जानकारी दिएको छ। यसरी एकाएक कर बढाउँदा लागत बढ्ने विमानस्थल आयोजनाका अधिकारीहरुले बताएका छन्।
मन्त्रिपरिषद्को निर्णय र जिल्ला समुन्वय समितिबाट राष्ट्रिय गौरवका आयोजनाका लागि भनेर छुट्याइएको ठाउँ र दरमा स्वसामले आपूर्ति गर्दै आएको छ। यद्यपी उपमहानगरपालिकाले भने संविधानतः करको दर तोक्ने स्थानीय तहको अधिकार भएको भन्दै उक्त निर्णय गरेको बताएको छ।
उपमहानगरले १७ हजार ७२७ घनमिटर नदिजन्यपदार्थ उत्खनन्का लागि स्वसाम कन्ट्रन्सन प्रालिसँग ९६ लाख ३७ हजार रोयल्टी माग गरेको छ। उपमहानगरले गएको एकमहिनादेखि नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको थियो।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र सिग्देलले स्वसामलाई नदीबाट बालुवा, गिट्टी, ढुंगा निकाल्न २०७५ साल चैत ८ गते सहमति दिएका थिए। उनले परानै दररेटमा सो सहमति दिएका थिए।
नगरपालिकाका प्रशासकिय अधिकृत सिग्देलको सरुवा भएर नयाँ कार्यकारी प्रमखुमा चक्रपाणी शर्मा आएपछि उनले रोयल्टी बढाएका हुन्।