उद्योग विभागले वैदेशिक लगानीका उद्योगको अनुमतिमा रोक लगाएको छ।
नयाँ बनेको ‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन’ (फिटा) मा वैदेशिक लगानीको न्यूनतम हद नतोकिएकोले अनुमति रोकेको विभागका निर्देशक विनोद प्रकाश सिंहले बताए।
‘नयाँ ऐनमा लगानीको न्यूनतम हद तोकिएको छैन। न्यूनतम हद नतोकिएसम्म लगानीको लागि अनुमति दिन मिल्दैन’, उनले सेतोपाटीसँग भने।
उनका अनुसार लगानीको न्यूनतम हदका लागि राजपत्रमा सूचना प्रकाशन गर्नु पर्ने छ। राजपत्रमा सूचना प्रकाशनका लागि विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको छ।
सो फाइल स्वीकृत भएर राय परामर्शका लागि उद्योग मन्त्रालयले अर्थमन्त्रालयमा पठाउने तयारी गरेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए।
राजपत्रमा सूचना प्रकाशन भएपछि पुनः दर्ता प्रक्रिया सुरू हुने विभागका निर्देशक प्रकाश सिंहको भनाइ छ। वैदेशिक लगानी सम्बन्धी नयाँ ऐन लागू भएपछि विभागले वैदेशिक लगानीको उद्योगलाई अनुमति रोकेको हो। यसभन्दा अघि विभागले ५० लाख रूपैयाँसम्मको वैदेशिक लगानीलाई अनुमति दिँदै आएको थियो।