नेपाली जुत्ताचप्पल उद्योगी समूहको आयोजनामा भृकुटीमण्डप प्रवेशद्वारमा फुटवेयर विजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ ।
मेलाको चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यब्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लवका संचालक जितु नेपालले उद्घाटन गरे।
मेलामा मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरु बिएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्याण्ड र ग्याज फेसनलगायतका ६ वटा जुत्ताचप्पल उत्पादक कम्पनी सहभागी छन्।
मेलामा ग्राहकलाई जुत्ताचप्पल खरिदमा १५ प्रतिशत देखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइने विएफ डियरहिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले जानकारी दिए।
आयोजकका अनुसार मेलामा नेपालमा चलेका अधिकांश प्रतिष्ठित जुत्ताचप्पल उत्पादकलाई एउटै छानामुनि समेटिएको छ । जुत्ताचप्पलका सेल मेला बेलाबेलामा हुने गरे पनि स्वदेशमै जुत्ताचप्पल उत्पादन गरेर आफूलाई स्थापित गरेका ब्राण्डको एकै ठाउँमा सहभागी भएर मेला गरेको पहिलो पटक भएको आयोजकको दावी छ।
मेलामा महिलाका लागि समेत दर्जनौ भेराइटीका जुत्ताचप्पल उपलब्ध छन्। गर्मीमा चप्पलको सिजन सुरु भएकाले दर्जनौ मोडलका चप्पल मेलामै लन्च गरिएको रनसुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए। मेलामा आफ्नो आवश्यकताअनुसार विभिन्न ब्राण्ड र मोडलका जुत्ताचप्पल छानेर लिन पाउने अबसर उपलब्ध हुने न्यौपानेले दावी गरे ।
मेलामा ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल छन्। गर्र्मी, स्कुल कलेजको भर्ना सिजन र नयाँ बर्षलाई लक्षित गरेर उत्पादन गरिएका नयाँ मोडलका जुत्ताचप्पल मेलाका आकर्षण हुनेछन् । नेपाली जुत्ताचप्पल उद्योगी समूहले विराटनगर र हेटौंडामा मेला गरेपछि काठमाडौंका उपभोक्तालाई लक्षित गरेर काठमाडौं जुत्ताचप्पल ब्यापार मेला आयोजना गरेको हो ।