प्रदेश सरकार, कृषि ज्ञान केन्द्र ललितपुर र फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को संयुक्त आयोजनामा राजधानीको भृकुटीमण्डपमा (शुक्रबार) आजबाट फ्लोरा एक्स्पो सुरू भएको छ।
पुष्प तथा पुष्पजन्य वस्तुहरुको प्रवद्र्धन, विस्तार तथा नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले सो एक्स्पो सञ्चालन भएको हो।
एक्स्पो पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरु सबैको निम्ति उपयोगी हुने आयोजकले जनाएको छ।
एक्स्पोमा जम्मा ८४ वटा स्टल छन्। जसमध्ये अफिसियल स्टलका लागि १० प्रतियोगितात्मक प्रदर्शनीका लागि ४, ल्याण्डस्केपिङ्गका लागि ४ र व्यवसायीक स्टलका लागि ६५ वटा स्टल रहेको छन्। मेला अवलोकनकर्ताको सुविधाका लागि २ वटा फुडस्टलको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ।
मेलामा अवलोकनकर्ताले करिव ४५० जातका फूलको अवलोकन गर्नुका साथै खरिद गर्न पाउने छन्। मेलामा राखिने फूलहरु अधिकांश स्वदेशी उत्पादन हुने तथा केही आयातित फूल तथा प्रविधि पनि प्रदर्शनीमा राखिएकोछ। मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाबीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई पुरस्कारको व्यवस्था छ।
एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी, आधुनिक खेती प्रविधि र जैविक विषादीको प्रदर्शनी हुनेछ। सो मेला ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराकासाथ ८ गते देखि १० गते ३ दिनसम्म हुने आयोजकले जानकारी दिएकोछ।