निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२ औं जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ।
फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरिद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन्। सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० डी रहेको छ।
नयाँ जहाजको रङ्गरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनादेखि उडान भर्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले बताए।
थपिएको जहाजले नियमित मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने उनको भनाइ छ। जहाज थपिएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान वृद्धि गर्ने कम्पनीले जनाएको छ। यसअघि भारतको वनारसमा उडान भर्दै आएको बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकातामा पनि उडान भर्नेछ।