कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए ।
सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो । महाकाली राइस मिल, पूजा दालमिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए।
बजार विस्तार भयो, जनसङ्ख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन पनि घट्दै जान थाल्यो । अहिले यहाँ उत्पादित चामलले यहीँका जनसङ्ख्यालाई पनि खान पुग्दैन । भारतबाट दुई,चार टन चामल नभित्रिए खान नपाउने अवस्था आइसकेको व्यवसायीहरू बताउँछन्।
विगतमा धानमात्र होइन मुसुरो र रहरको दाल पनि बङ्गलादेशका साथै अन्य खाडी मुलुकसम्म पुग्थ्यो ।
ठूलो परिमाणमा तोरी उत्पादन हु्ने हुँदा तेल पनि निर्यात हुन्थ्यो । दाङमा उत्पादित तोरीसमेत यहीँ आउँथ्यो । अहिले दाङको तोरी नेपालगञ्ज नआउने गरेकाले धेरैजसो मिल बन्द भइसकेका छन् भने बाँकी पनि बन्द हुने अवस्थामा पुगेका छन् । नेपालगञ्जमा स्वदेशी उत्पादनकै ठूलो परिणाममा किनबेच हुन्थ्यो। “यहाँ अहिले व्यापार त बढेको छ तर ती सबै आयातित मालसामान हुन्,” नेपालगञ्जका व्यवसायी कृष्ण श्रेष्ठ भन्छन्।
उनका अनुसार नेपालगञ्जको भारतसँग परनिर्भरता बढ्दै गइरहेको छ। वनस्पती घीउ उद्योग बन्द भएका छन् । कुनै बखत यहाँबाट एक लाख लिटरसम्म वनस्पति घीउ निर्यात हुने गरेको थियो । दुगड ग्रुरुपले मिल चलाउन अहिले भारतको राजस्थानबाट तोरी आयात गरिरहेकोे छ । पहिला नेपालगञ्जबाट धान निर्यात हुन्थ्यो । त्यसो हुँदा ग्रामीण क्षेत्रबाट धान नेपालगञ्ज आउँथ्यो । सडक सञ्जाल विस्तारसँगै साना मिल गाउँगाउँ पुगेका छन्।
नेपालगञ्जमा धान आउन छाडेकाले यहाँका मिल बन्द भएको मिल व्यवसायी प्रदीप भट्टराई बताउँछन्।
खाद्यान्न उत्पादनमा अग्रणी रहेको नेपालगञ्ज क्षेत्र अहिले परनिर्भर भए पनि जानकी गाउँपालिका भने औंद्योगिक केन्द्रका रूपमा विकसित भइरहेको छ । यहाँका साना, ठूला र मझौला गरी दर्जनभन्द बढी उद्योग सञ्चालनमा आइसकेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनार बताउँछन।
आर्थिक वर्ष २०७४÷७५ मा उद्योग विभागबाट सञ्चालनको अनुमति पाएका केही उद्योगले रु पाँच अर्ब २६ करोड ८० लाख बराबरको लगानी गरेका छन् अनुमति पाएका कतिपय उद्योग चलिसकेका छन् । कतिपय उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणमा लागिरहेका छन्।
स्टिललगायत अन्य उद्योग पनि उक्त गाउँपालिकामा स्थापना भइरहेकाले औद्योगिक केन्द्रका रूपमा विकास भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुनार बताउँछन। बाँकेमा लगानीमैत्री वातावरण भएकै कारण पछिल्लो समय खजुरा, जानकी, कोहलपुर र नेपालगञ्ज क्षेत्रमा दर्जन बढी विभिन्न उद्योग भइरहेका सम्बद्ध व्यवसायी बताउँछन् ।