चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ८० अर्ब पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय विवरणअनुसार साउनदेखि माघसम्म ८ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँको बस्तु आयात भएको छ भने ५३ अर्ब ८ करोड रुपैयाँको निर्यात भएको छ।
गत वर्षको यस अवधिको तुलनामा आयात २६ प्रतिशतले बढेको छ भने निर्यात साढे ११ प्रतिशतले मात्रै बढेको छ। गन्तव्यका आधारमा भारततर्फ २१.१ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३१.१ प्रतिशतले कमी आएको छ।
पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैंचा, जूटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधि लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
वस्तु आयातका आधारमा भारतबाट २४.८ प्रतिशत, चीनबाट ३६.६ प्रतिशत र अन्य मुलुकबाट २३.२ प्रतिशतले बढेको छ। पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ।
दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ।
भुक्तानी सन्तुलनमा सुधार
मुलुकको भुक्तानी सन्तुलनमा सुधार आएको छ। यस आर्थिक वर्षको पहिलो पाँच महिनासम्म अर्थात मंसिरसम्म ८५ अर्ब घाटामा रहेको भुक्तानी सन्तुलन पुस मसान्तसम्म आउँदा ६३ अर्ब ६८ करोडमा झरेको थियो भने माघ महिनासम्म आउँदा ४९ अर्ब ३२ करोडमा झरेको छ।
यद्यपी अघिल्लो वर्षको यसै अवधिको तुलनामा यो रकम उच्च हो। अघिल्लो वर्ष यस अवधिमा भुक्तानी सन्तुलन १८ अर्ब २८ करोडले मात्रै घाटामा थियो।
मुलुकमा भित्रिने पैसा र बाहिरिने पैसाको अन्तरलाई भुक्तानी सन्तुलनले जनाउँछ। यसलाई शोधनान्तर स्थिति पनि भन्ने गरिन्छ। बाहिरिनेभन्दा भित्रिने पैसा बढी हुँदा मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर नाफामा देखिन्छ भने बाहिरिने पैसा बढी हुँदा घाटामा देखिन्छ।
मुलुकको व्यापार, रेमिट्यान्स, वैदेशिक लगानी तथा ऋण, नेपाली बाहिरिँदा लैजाने खर्च तथा पर्यटकले यहाँ गर्ने खर्च लगायतले भुक्तानी सन्तुलनमा असर पार्दछ। मुलुकको बढ्दो व्यापार घाटाले नोक्सानीमा रहेको भुक्तानी सन्तुलनलाई दवाव दिइरहेको छ।