काठमाडौंमा रहेको होटल सोल्टीको चेनको रुपमा नेपालगञ्जमा स्थापना भएको सोल्टी वेन्टेन्ड प्रिमियरले पाँचतारेको प्रमाणपत्र पाएसँगै मुलुकमा पाँचतारे होटलको सख्या १२ पुग्यो। यसमा १० वटा सञ्चालनमा छन् भने दुईवटा बन्द अवस्थामा छन्।
मुलुकमा पछिल्लो समय होटल तथा रिसोर्टमा लगानी बढीरहेको छ। मुलुकमा राजनीतिक स्थिरता भएपछि पर्यटकीय गतिविधि बढ्ने भएकोले पनि होटल तथा रिसोर्टमा लगानी बढीरहेको छ। यसैक्रममा पछिल्लो समय आधा दर्जन पाँच तारे होटल सञ्चालनको तयारीमा छन्।
यसमध्ये चारवटा काठमाडौंमै छन् भने दुईवटा काठमाडौं बाहिर।
ठमेलको छाया सेन्टरमा रहेको होटल अलफ्ट काठमाडौं, होटल मेरियट,डबल ट्रि हिल्टन र काठमाडौं शेराटन रहेका छन्। त्यस्तै काठमाडौं बाहिर भैरहवाको पवन प्यालेस पनि सञ्चालनको तयारीमा छ भने नेपालगञ्ज कोहलपुरको सेन्ट्रल प्लाजा पनि पाँचतारेको रुपमा छिट्टै सञ्चालनमा आउने सञ्चालकहरुले बताएका छन्।
यी होटल सञ्चालनमा आए मुलुकमा पाँचतारे होटलको सख्या १८ पुग्ने छ।
अहिले काठमाडौंको याक एण्ड यति, होटल अन्नपूर्ण, होटल मल्ल, हायात रिजेन्सी, सोल्टी क्राउन प्लाजा, ¥याडिसन, सांग्रिला सञ्चालनमा छन्। काठमाडौंको होटल एभरेष्ट भने बन्द अवस्थामा रहेको छ।
त्यस्तै पोखरा ग्रान्ड सञ्चालनमा छ भने फुलबारी रिसोर्ट बन्द भएको छ। भैरहवाको टाइगर प्यालेस रिसोर्ट र नेपालगञ्जको सोल्टी वेन्सटेन्ड प्रिमियर सञ्चालनमा छन्।
पछिल्लो समय नेपालमा विश्वस्तरका ठूला होटल ब्रान्डले चेन (सञ्जाल) विस्तार गरिरहेका छन्। राजनीतक संक्रमण सकिएको र पर्यटकीय केन्द्र बन्ने विश्वाससहित उनीहरूले नेपालमा लगानी र सञ्जाल विस्तार गर्न लागेका हुन्।
यी होटलमध्ये केहीमा विदेशी लगानी छ भने कतिपय फ्रेन्चाइजको रूपमा नेपाल भित्रिएका छन्। काठमाडौंमा बनिरहेका पाँचमध्ये चार वटा चेन मेरियट इन्टरनेशनलका छन्। केही समय अगाडि फेयरफिल्ड मेरियट सञ्चालनमा आइसकेको छ भने पाँचतारे मेरियट सञ्चालनको तयारीमा छ।
एभरेष्ट हस्पिटालिटीले काठमाडौंको नागपोखरीमा मेरियट होटल बनाइरहेको छ। यो होटल बनाउन ३ अर्बभन्दा बढी लगानी हुने एभरेष्ट हस्पिटालिटीले जनाएको छ।
मेरियट संसारकै सबैभन्दा ठूलो होटल चेन हो। ६ हजार होटल तथा रिसोर्टमा १२ लाख कोठाको व्यवस्थापन÷सञ्चालन गरिरहेको मेरियट इन्टरनेशनल विभिन्न ब्रान्डबाट नेपाल भित्रिएको छ।
मेरियटले नै व्यवस्थापन गर्ने अर्को पाँचतारे होटल काठमाडौंको ठमेलमा बनिरहेको छ। मेरियटकै सहायक कम्पनी स्टारउडको शेराटन ब्रान्डबाट सञ्चालन हुने उक्त होटलमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको एमआइटी होल्डिङ नेपालको लगानी छ। २१४ कोठा हुने यो होटलमा ८ अर्ब लगानी हुने बताइएको छ।
अलफ्ट नेपाल आउने अर्को अन्तर्राष्ट्रिय होटल चेन हो। स्टारउडकै ब्रान्डको रूपमा रहेको अलफ्टले आधुनिक तरिकाबाट परम्परागत र स्थानीय उत्पादनलाई आफ्नो सेवाको केन्द्रमा राख्छ।
अलफ्ट नाममा संसारका २२ मुलुकमा सयौं होटल सञ्चालनमा छन्। ठमेलमा बनिरहेको छाया सेन्टरमा भित्र नेपालमा अलफ्टकै नाममा हो६ल सञ्चालन हुनेछ। १७५ कोठा हुने यो होटल २०७५ सम्म सञ्चालनमा आइसक्ने व्यवस्थापनले जनाएको छ।
६ महादेशका ८५ देशमा ५ सय ७० होटल तथा रिसोर्ट चलाइरहेको हिल्टन पनि नेपाल आइसकेको छ।्
शंकर समूहले नक्सालमा डबल ट्री हिल्टन होटलका लागि भवन बनाइरहेको छ। यो होटल सन् २०२० सम्म सञ्चालनमा आउने छ।
नेपालमा राजनीतिक संक्रमण सकिएपछि आर्थिक विकास सुरु हुने विश्वासले व्यवसायीहरु उत्साहित भएका छन्। त्यसमा पनि होटल क्षेत्र सबैभन्दा अगाडि आएको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले पर्यटकीय सम्भावनाले भरिपूर्ण नेपालमा शान्ति र स्थीरता हुनेबित्तिकै पर्यटक आउने सम्भावना देखेर विश्वविख्यात होटल चेन आइरहेको बताए।
‘यसले संसारभरि नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्छ’ जोशीले भने, ‘विश्वभर रुचाइएका र चलेका होटलका चेन नेपाल आउनु पर्यटनका लागि शुभ संकेत पनि हो।’
होटल एसोसिएसनका महासचिवत विनायक शाहले नेपालमा राजनीतिक स्थीरताको संकेतपछि सबैभन्दा पहिले पर्यटन नै विस्तार हुन्छ भन्ने विश्वासका साथ होटलमा लगानी मात्र होइन विश्वमा चलेका ब्रान्ड नै नेपाल आएको बताए।
‘पहिले पनि चेन आउने जाने भइरहेको थियो। तर अहिले एकैपटक धेरै आएका छन्’ शाहले भने,’यसले के देखाउँछ भने नेपालको पर्यटन उद्योगमा विदेशीले सम्भावना देख्न थालेका छन्।’