केही समय अघि गैरआवासीय नेपालीले किनेर चलाउन नसकी बन्द भएको सौर्य एयरलाइन्स फेरि बिक्री भएको छ। अघिल्लो पटक खरिद बिक्रीको सम्झौता भएर पनि स्वामित्व हस्तान्तरण नभएको एयरलाइन्स अहिले भारतीय कम्पनीले ६२ करोड रुपैयाँमा किनेको छ।
भारतीय कुबेर ग्रुपले नेपाली साझेदारसँगको साझेदारीमा पूर्ण स्वामित्व किनेको सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले सेतोपाटीलाई जानकारी दिए।
‘म आज मात्र भारतबाट सम्झौता गरेर फर्किएँ उनीहरुले सय प्रतिशत सेयर किनेका छन्,’ पोखरेलले सेतोपाटीसँग भने।
स्थापना भएको चार वर्षमै एयरलाइन्सको अहिलेको व्यवस्थापन बिक्री गर्ने निष्कर्षमा पुगेको हो। सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलका अनुसार एयरलाइन्स बिक्री सम्बन्धि हस्ताक्षर भइसकेको र रकम भुक्तानी हुनमात्र बाँकी रहेको छ।
जेट इन्जिन भएका जहाजबाट आन्तरिक हवाई सेवा सुरु गरेको एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा थियो। अपेक्षित बजार लिन नसकेपछि सञ्चालन नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि उडान कटौती गर्दै आएको थियो।
चीनमा व्यापार व्यवसाय गर्दै आएका श्याम अधिकारीको नेतृत्वमा गएको साउनमा एयरलाइन्स ६१ करोडमा बिक्री भएको थियो।
क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरले बनाएका सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो।
एयरलाइन्सले दैनिक सात उडान गर्न पाउने गरी अनुमति पाएको छ।
लामो समयदेखि जहाजमा प्राविधिक समस्या आएपछि एउटा मात्र जहाजबाट उडान गरिरहेको एयरलाइन्सले पछिल्लो समय उडान रोकेको छ।
२०७१ मंसिरबाट चार्टर उडान सुरु गरेको एयरलाइन्सले २०७४ बाट नियमित उडान सुरु गरेको थियो। यात्रु हिस्साको हिसाबले राम्रै प्रदर्शन गरिहेको भए पनि एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा पर्दै गएको छ।