अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याएर बसिरहनु भएको मात्र छैन चिया किसानलाई उद्यमको पाठ पनि सिकाइरहेका छन्।
कुरा देउमाई नगरपालिका जितपुरका सुरेश लिम्बूको हो । उनी लक्का जवानीमा ब्रिटिश आर्मीमा भर्ना भए। बीस वर्षको उमेरमा आर्मीमा भर्ना हुनुभएका उनले करीब छ वर्ष मात्र त्यहाँ काम गरे। छुट्टीको समयमा घर आउँदा जितपुरमा चियाको सम्भावनाका विषयमा बहस चल्दै थियो । उसबेला ब्रिटिस आर्मीको जागीर कमाइ र इज्जतका दृष्टिले आकर्षकै मानिन्थ्यो । नेपालमा नै केही काम गर्ने सोच बनाएपछि उनले जागीर छोडेर चिया उमार्ने निर्णय गरे।
दार्जिलिङको अध्ययनपछि सोझै आर्मीमा भर्ती हुनुभएका उनले छ वर्ष जागीर खाएर छोडे। अनि जन्मथलो जितपुरमा आएर चिया रोप्न थाले। एक सय रोपनी भन्दा बढी क्षेत्रफलमा चिया रोप्नुभएका उनले हरियो चिया पत्तीबाट रामै्र आम्दानी लिन थालेका थिए।
हरियो पत्ती भन्दा पनि चिया नै प्रशोधन गरेर बेच्दा राम्रो कमाइ हुने थाहा पाएपछि उनले जितपुरमै चिया कारखाना खोल्ने सोच बनाए। कृषि विकास बैंकबाट कर्जा लिएर करीब दुई करोडको लगानीमा विसं २०५७ मा उनले चिया कारखाना शुरु गरे। गाउँलेले पनि उनकै सिको गर्देै चिया लगाउन शुरु गरे । मिष्ट भ्याली चिया कारखाना खोल्नु भएका उनी तीन वर्षमा कारखानामै चिया प्रशोधन गर्न सफल भए। विसं २०६१ वैशाखदेखि नयाँ कारखानामा नयाँ यामको चिया प्रशोधन गर्न थालेका हुन्।
शुरुमा नेपालका विभिन्न बजारमा आफ्नो उत्पादन बेच्नु भएका उनले पछि भारतीय बजारमा पनि आफ्नो उत्पादन पु¥याउन थाले। ग्रामीण भेगमा कारखाना सञ्चालन गर्दा धेरै आरोह र अवरोध भोगेका लिम्बूले राम्रै गरी कारखाना सञ्चालन गर्न पनि थाले।
शुरुमा चिया प्रशोधन गर्न कारखानाको क्षमता पनि कम थियो । धेरै प्रकारका चिया पनि उत्पादन हुँदैनथ्यो । बिजुली गइरहने समस्या उत्तिकै थियो । कारखानालाई थप मजबुत बनाउने सोच भइरहेका बेला करीब पाँच वर्ष अघि उन्नति समावेशी वृद्धि कार्यक्रमले चिया उद्यमीलाई सहयोग गर्ने खबर आइपुग्यो । उन्नतिमा प्रस्ताव पेश गरिएका लिम्बूको प्रस्ताव स्वीकृत भयो । उन्नतिले उनको चाहना र काम गर्ने जा“गर बुझेपछि साझेदारीमा चिया कारखानालाई थप मजबुत बनाउन काम अगाडि बढायो ।
हार्डवेयर र सफ्टवेयरको कामका लागि संयुक्त कार्यक्रम २ करोड ५९ लाख रुपैया“ लागतमा काम शुरु गरियो । कार्यक्रमअन्तर्गत भवन निर्माण र आवश्यक अत्याधुनिक उपकरण खरिद गर्नु थियो । सफ्वेयरअन्तर्गत किसानलाई तालीम दिने, गोठ सुधार गर्ने लगायतका कार्यक्रम थियो ।
उन्नतिसँगको सहकार्यपछि उनले हरियो चियापत्ती सुकाउन इन्जाइमर, लिफ्ट कन्भर्टर, आरनट पक्का सटर, टि ब्रेकर, टि ब्याक प्याकेजिङ, डिप प्युरिङ मेसिन, चिया सङ्कलनका लागि ट्रक, १२५ केभिए र ४० केभिए का दुईवटा जेनेरेटर लगायतका १८ प्रकारका सामग्री खरिद गरे।
ग्रीन टि निर्माण गर्न आवश्यक एउटा नयाँ भवनसमेत उन्नतिकै सहयोगमा निर्माण गरिएको उनले बताए। चियालाई आइएसओ मापदण्ड अनुसारको सरसफाइको व्यवस्था समेत गरिएको छ । कारखानाको भुइँमा टायलसमेत बिच्छ्याइएको छ । महिला र पुरुष शौचालय निर्माण गरिएको छ । यी सामग्री सँगै किसानहरुसँग गोठ सुधार कार्यक्रम समेत सञ्चालन गरिएको छ ।
चिया उत्पादन भए पनि गाउँका भित्री सडकमा सवारी पुग्न नसक्दा चिया सङ्कलनमा समस्या थियो तर उन्नति समावेसी परियोजनाले बनाएको गाग्रे भन्ज्याङ – जितपुर – सोयाक – चिसापानी सडकले थप टेवा पुगेको छ । हाल चियाको याममा हरियो पत्ती र तयारी चिया खरिद गरेको ट्रक मार्फत नै सङ्कलन र बिक्री भइरहेको उनले बताए। कारखानामा आवद्ध रहेका जितपुरभित्र रहेका चार वटा सहकारीका किसानहरुको चिया उत्पादन गरिरहेको उनले बताए। किसानको उत्पादनको अग्र्यानिक प्रमाणीकरण गर्ने काम पनि अघि बढेको उनले बताए। अग्र्यानिक प्रमाणीकरण भएपछि चियाको बजार मूुल्य बढ्ने र माग समेत उच्च हुनेछ आशा गरिएको छ ।
– टीका खतिवडा
रासस