उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादबले कमजोर आर्थिक स्थिति हुनेलाई ग्यासमा सहुलियत दिनुपर्ने बताएका छन्। नेपाल आयल निगमको वार्षिकोत्सवको अवसरमा मन्त्री यादवले सहुलियत दर चाहिने सर्वसाधारणको पहिचान गरेर सोही अनुसार मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिए।
‘हाम्रोमा ठूला बडाले बढी सहुलियत लिने प्रचलन छ’ उनले भने ‘त्यसकारण ‘सहुलियत दरको ग्यास प्रयोग गर्नेहरूको नाम नै सार्वजनिक गर्नुपर्छ।’
मूल्य तिर्न नसक्ने जनालाई कार्डमार्फत सहुलियत दिने र बाँकी सबैलाई निगमलाई पर्न आउने मूल्यमै ग्यास बिक्री गर्नुपर्ने उनको भनाई छ।
नेपाल आयल निगमले हाल आफ्नो लागत मूल्यभन्दा कम मूल्यमा ग्यास बिक्री वितरण गर्दै आएको छ। जसले गर्दा घाटा ब्यहोर्नुपरेको निगमको भनाइ छ।
‘पूर्व राजा ज्ञानेन्द्र, प्रधानमन्त्री देखि गरिब व्यक्तिले पनि सहुलियत दरमा ग्यास प्रयोग गर्दै आएकाले फरक फरक मूल्य निर्धारण गरेर जानुपर्ने अवस्था छ’ यादवले भने।
२० रूपैयाँमा चिया बेच्नेलाई र १ सय रूपैयाँमा चिया बेच्नेलाई ग्यासको मूल्य फरक फरक पार्नुपर्ने उनले बताए। सरकारले २०६९ सालदेखि व्यवसायी र घरायसी प्रयोजनका लागि दुई प्रकारको ग्यास वितरण गर्नुपर्ने बताउँदै आएको छ। तर त्यो अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन।