चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ क्यानडामा पक्राउ परेसँगै ट्रम्प-सी भेटपछि सुध्रन लागेको चीन र अमेरिका सम्बन्ध फेरि चिसिएको छ।
चीनका उपविदेश मन्त्री ले यूचेङले आइतबार बेइजिङस्थित अमेरिकी राजदूत टेरी ब्रान्सटाडलाई डाकेर मेङ पक्राउबारे जानकारी लिएका छन्।
भेटका क्रममा उपविदेशमन्त्री लेले मेङलाई सुपुर्दगी गर्नुपर्ने अमेरिकी मागबारे आपत्ती जनाएको चाइना डेलीले लेखेको छ।
‘अमेरिकाले जे गरेको छ त्यसले चिनियाँ नागरिकको जायज र वैधानिक अधिकारको उल्लंघन गरेको छ, र यो उल्लंघन गम्भीर प्रकृतिको छ,’ लेलाई उद्धृत गर्दै चाइना डेलीले लेखेको छ।
यसअघि लेले बेइजिङस्थित क्यानडेली राजदूत जोन म्याकलमलाई पनि डाकेर घटनाबारे जानकारी लिएका थिए।
अमेरिकाको आग्रहमा क्यानडाले मेङलाई पक्राउ गर्नु उनको अधिकारको गम्भीर हनन भएको भन्दै क्यानडेली राजदूतसँग उपमन्त्रीलेले यो निच काम भएको बताएका थिए।
हुवावेका संस्थापक रेन झेङफेईकी छोरी मेङलाई डिसेम्बर १ तारिखमा मेक्सिको जान लाग्दा क्यानडाको भ्यानकुवरबाट पक्राउ गरिएको थियो। उनी अहिले हिरासतमा छन्।
अमेरिकाले प्रतिबन्ध लगाएको इरानमा टेलिकम्युनिकेशन सामग्री पठाएको भन्दै अमेरिकाले मेङलाई पक्राउ पुर्जी जारी गरेको थियो।
यसअघि यस्तै मुद्दामा अर्को चिनियाँ कम्पनी जेटिईलाई पनि अमेरिकाले जरिवाना तिराएको थियो।
मेङलाई अमेरिका सुपुर्दगी गर्नेबारे सोमबार क्यानडाको अदालतमा सुनुवाइ हुनेछ।
४६ वर्षीया मेङले आफू उच्च रक्तचापको बिरामी भएकाले धरौटीमा रिहा हुनुपर्ने बताएकी छन्।
अमेरिकाले लगाएको आरोपबारे पनि आफूलाई थाहा नभएको उनको दाबी छ।
मेङको पक्राउले अमेरिका र चीनको सम्बन्ध चिसिएकोमात्र छैन, विश्व सेयरबजार नै ओह्रालो लागेको छ।
जी-२० सम्मेलनका बेला अर्जेन्टिनामा भएको भेटमा चीन र अमेरिकाका राष्ट्रपतिहरू व्यापार युद्धमा ९० दिनको युद्धविराम गर्न सहमत भएका थिए। तर पछिल्लो समय मेङ प्रकरणले यी दुई शक्ति राष्ट्रको सम्बन्ध बिग्रने डरले सेयर ओह्रालो लागेको हो।
गत बिहीबार मुम्बईदेखि युरोपसम्मको सेयर बजार अघिल्लो दिनको तुलनामा करिब ३ प्रतिशतले घटेको थियो। उनको पक्राउको समाचार बुधबारमात्र सार्वजनिक भएको थियो।
यद्यपी चीनसँगको वार्ताको नेतृत्व गरिरहेका रोबर्ट लाइटहिजरले यो घटनाले कुनै वार्ता प्रक्रियामा असर पार्न नहुने बताएका छन्।
‘यो आपराधिक घटना हो। व्यापार नीतिभन्दा यो फरक घटना हो,’ उनले भने।
मेङविरूद्ध गत अगस्ट २२ मा अमेरिकाले पक्राउ पुर्जी जारी गरेको थियो।
हङकङबाट मेक्सिको जाँदा भ्यानकुवरमा जहाज परिवर्तन गर्ने थाहा पाएपछि क्यानडेली न्यायाधीशले उनीविरूद्ध पक्राउ पुर्जी दिएका थिए।
हुवावे सामसङपछि संसारको दोस्रो ठूलो स्मार्ट फोन उत्पादक हो।