सरकारले हेलिकप्टर उडानमा निषेधित क्षेत्र हटाउने तयारी गरिरहेको छ। नेपालका विभिन्न हिमाली जिल्लामा हेलिकप्टर उडान गर्नलाई विभिन्न सरकारी निकायबाट अनुमति लिनुपर्ने व्यवस्था परिवर्तन गर्दै निषेधित क्षेत्र हटाउने तयारी गरेको हो।
सरकारले अहिले सुरक्षाको कारण देखाउँदै ताप्लेजुङ, संखुवासभा, सोलखुम्बु, दोलखा, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, बझाङ, दार्चुला लगायत जिल्लाका माथिल्लो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
पर्यटकको खोज तथा उद्धारका लागि अनुमतिको प्रक्रियामा अल्झंदा समस्या हुने भएकोले यो व्यवस्था हटाउन लागिएको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। मन्त्रालयले गृह मन्त्रालयसँगको सहकार्यमा यो व्यवस्था खारेज गर्न लागिएको मन्त्रालय स्रोतको दावी छ।
अहिले निषेधित क्षेत्रमा उडान गर्नकाे लागि नागरिक उड्यन प्राधिकरण, पर्यटन मन्त्रालय र गृह मन्त्रालयबाट अनुमति लिनुपर्न व्यवस्था रहेकाे छ।
हेलिकप्टर सेवा संचालकहरुले निषेधित क्षेत्र हटाउनुपर्ने माग गर्दै आइरहेका छन्। उनीहरुले विमानस्थलले अनुमति दिएपछि नेपालको जुनसुकै ठाउँमा उडान गर्न पाउनुपर्ने माग गर्दै आएका थिए।
उच्च मूल्यको पर्यटकीय सेवा पु¥याउँदै आएको सेवालाई सुरक्षाको नाममा झन्झट थोपिरिएको भन्दै उनीहरुले यो व्यवस्था खारेज गर्न माग गर्दै आएका थिए। हालैमात्र गठित हेलिकप्टर सोसाइटी अफ नेपालले यसका लागि लवइङ गर्दै आएको थियो।