नेपालको चौधरी ग्रुपको पनि लगानी रहेको रुवान्डास्थित फाइभ स्टार होटल उबुम्बे ग्राण्ड लिलामीमा हुने भएको छ।
रुवान्डाको समाचार पत्र द न्यू टाइम्सका अनुसार १ करोड ८० लाख डलर ऋण तिर्न नसकेपछि रुवान्डाको केसिबी बैंकले उबुम्बे होटल लिलामीका लागि प्रक्रिया अघि बढाएको हो। अर्को सोमबार स्थानीय समाचार अनुसार बिहान ११ बजे होटलको लिलामी हुने उक्त पत्रिकाले लेखेको छ।
उक्त होटलमा चौधरी कर्प ग्लोबल, स्थानीय व्यापारी रोबर्ट वाफाकुरेरा र मुकवानो ग्रुपको लगानी छ।
बैंकले लगानीकर्ताको होटल व्यवस्थापन गर्न सक्ने क्षमता र ऋण फिर्ता हुन लाग्ने समयलाई विचार गरेर लिलामी गर्न लागेको हो।
लगानीकर्ताहरूले अफ्रिकाका युगान्डा, केन्यालगायत देशहरूमा यस्तै खाले लगानी गर्ने योजना थियो। तर चौधरी कर्प ग्लोबलले होटलको सम्पत्ति आफ्नो ब्रान्ड द जिन्कको मातहतमा सञ्चालन गर्ने भनिएको सहमति तोडिएपछि लगानीकर्ताबीच विवाद बढेको पत्रिकाले उल्लेख गरेको छ।
सो होटलबारे किगालीको जिल्ला वाणिज्य अदालत र दुबईमा आर्विट्रेसन प्रक्रियालगायत धेरै कानुनी विवादहरू भएका छन्।
ग्लोबल होटल चेन हिल्टन ग्रुपले व्यवस्थापन लिने चर्चा चलेपछि त्यो विवाद झन् बढेको थियो।
नेपालका एकमात्र फोर्ब्स सूचीकृत डलर अर्बपति विनोद चौधरीको चौधरी कर्प ग्लोबलले स्थानीय रोबर्ट वाफाकुरेरा र मुकवानो ग्रुपसँग मिलेर २ वर्ष अघि उबुम्वे होटल खोलेका थिए। सो होटल चौधरी समूहबाट राहुल चौधरीले हेर्दै आएका थिए।