नेपाल एयरलाइन्सका आन्तरिक उडानका लागि प्रयोग हुने पाँचवटा जहाज ग्राउन्डेड भएका छन्। आन्तरिक उडानका लागि ९ वटा जहाज भएको एयरलाइन्सले अहिले चारवटा जहाजमात्र उडाइरहेको छ।
आन्तरिक उडान प्रभावकारी गर्न नसकिरहेको एयरलाइन्सले जहाज उडान नसकेर थन्काएर राखेको छ।
सरकारी स्वामित्वको एयरलाइन्सले बजारमा प्रभावकारी उपस्थिति देखाएर जनतालाई सहुलियत दिनुपर्ने भएपनि भएकै जहाज उडाउन सकेको छैन।
संस्थाका अनुसार हाल ३ मध्ये २ ट्विनटर जहाज ग्राउन्डेड छन् भने चारमध्ये २ चिनियाँ कम्पनीका वाइ १२ जहाज ग्राउन्डेड छन्। त्यस्तै चीनबाटै ल्याइएको एउटा एमए ६० जहाज पनि ग्राउन्डेड छ।
२ वटा ट्विनटर पुराना भएकोले मर्मत सम्भार गर्नुपर्ने भएकोले स्ट्रक्चरल मर्मतमा रहेको एयरलाइन्सले जानकारी दिएको छ। त्यस्तै दुईवटा वाइ १२ जहाजका पाटपुर्जा अभाव तथा पाइलट अभावमा उडान नसकिने अवस्थामा पुगिएको एयरलाइन्सको भनाइ रहेको छ।