राजविराजमा अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ बजार’ शुरु भएको छ । राजविराज नगरपालिका–११ स्थित हनुमाननगर सडकखण्डमा आज तीन वर्षीया अदिती कर्णले रिबन काटेर उद्घाटन गरेकाे गोकर्ट मेघा स्टोरले एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिनेछ ।
संस्थाले तयार गरेको एप्स र वेबसाइटमार्फत राजविराज नगरका ग्राहकले अबदेखि आफूलाई आवश्यक पर्ने सामान किनमेल र बिक्री गर्न सक्नेछन् । सञ्चालक केशव कर्णले कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा दिने बताए।
राजविराजमा आधुनिक सुपरमार्केट र मिनीमार्ट नखुलेको अवस्थामा एप्स वा वेबसाइटमार्फत ग्राहकलाई चाहिएको सामान प्रत्येक वडाका स्थानीय प्रतिनिधिमार्फत डेढ घण्टाभित्र घरमै पु¥याइदिने अर्का सञ्चालक ललित रजकले बताए।
ग्राहकले भुक्तानी नगरी पाँच सयदेखि दुई हजारसम्मका सामान घरमा मगाउन सक्ने र त्योभन्दा बढीको समान भने बैंकको खातामा ४० प्रतिशत जम्मा गरेर मगाउन सकिने रजकले जानकारी दिए। मोबाइल तथा इन्टरनेटबाट घरमै बसेर विभिन्न किसिमका सामान किनमेल गर्न सहज भएको राजविराज–१४ का रामअवतार यादवले बताए।
नगरभित्र सुलभ तथा सहज इन्टरनेट सेवाको योजना लागू गर्ने बताएका सञ्चालक कर्णले अत्याधुनिक स्मार्ट फोन बोक्ने वर्तमान पुस्ताको वृद्धिसँगै अनलाइन सपिङले राम्रो बजार लिने विश्वास व्यक्त गरे।